विराटचोकः आज संंविधान दिवस देशभर मनाइँदैछ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो ।
यो संविधानले २०६३ पुस १ गते ने.क.पा. माओवादीलगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेर पूर्ण संविधान जारी गरेको हो । पहिलो संविधानसभाले तोकिएको समयमा संविधानको प्रारुप दिन नसकेपछि दोस्रो संविधानसभाको चुनावबाट निर्वाचित जनप्रतिनिधिले संविधानलाई पूर्णता दिएका थिए ।







