विराटचोकः शनिबार इन्द्रपुर जुनियर जेसीजको आयोजनामा ‘अबको सुन्दरहरैंचा’ विषयक बहस कार्यक्रम सुन्दरहरैंचाको नेपालीरिका होटलमा सम्पन्न भएको छ ।
महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले सुझाव दिनुभएको थियो । प्रमुख आतिथ रायाले सुन्दरहरैंचालाई महानगर बनाउने योजनामा लाग्नुपर्ने सुझाव दिँदै नगरलाई शून्य बेरुजु बनाउने उपायहरू कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सो बहस तथा विचार विमर्श कार्यक्रममा नीति तथा राजनीति शीर्षक बहसमा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा र राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले विचार विमर्श गर्नुभएको थियो । सो बहसको सहजकर्ता सञ्चारकर्मी विनय बाराकोटी हुनुहुन्थ्यो ।
त्यस्तै, डा. दीपक न्यौपानेको सहजीकरणमा भएको शिक्षा तथा स्वास्थ्य शीर्षकको बहसमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलिया, आईएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सूर्यबहादुर पराजुली र सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विचार, विमर्श गर्नुभएको थियो ।
उद्यम, कृषि र संस्कृति शीर्षकको विचार विमर्शमा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल, एग्रीग्रीन नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र उप्रेती, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँ र शिल्पी नाट्य केन्द्रका कला निर्देशक युवराज घिमिरेले सहजकर्तामा निरज न्यौपानेको सहजीकरणमा आफ्ना धारणा राख्नुभएको थियो ।
सुशासन र पारदर्शिता शीर्षकको बहसको सहजकर्ताको भूमिकामा सञ्चारकर्मी बाबुराम निरौला हुनुहुन्थ्यो । सो बहस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि महालेखा परीक्षकको कार्यालयका महालेखापरीक्षक तोयम राया, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सहभागी हुुनुहुन्थ्यो ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे धारणा प्रस्तुत गर्नुभएको थियो ।
इलामको रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले रोङ गाउँपालिकाले गरेको कार्यको जानकारी दिनुका साथै सुन्दरहरैंचाले नगरको विकासका लागि गर्न सक्ने कामको बारेमा औँल्याउनुभएको थियो ।
कार्यक्रमको महत्वबारे इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले प्रष्ट पार्नुभएको थियो । इन्द्रपुर जुनियर जेसीजका अध्यक्ष आयुष अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घोषण इन्द्रपुर जेसीजका महासचिव समीर बस्नेतले गर्नुभएको थियो ।







