विराटचोकः शुक्रबार बिहान ११ बजे सुन्दरहरैंचा नगरपालिकाको प्रवेशद्वारको सामुन्ने नगरभित्रका निजी शैक्षिक संस्थाका दर्जनौँ सवारी साधनको लाइन थियो । १० बजे विद्यार्थीलाई विद्यालयमा पुर्याएर सवारी साधन नगरपालिका अगाडि ल्याइएको थियो । सबै सवारी साधनमा कालो झण्डा राखिएको थियो ।
संघीय शिक्षा ऐनमा भएका केही बुँदामा असहमति जनाउँदै प्याब्सन, एन प्याब्सन, हिसान र अपेनमा आबद्ध विद्यालय सञ्चालक आन्दोलित भएका छन् । आन्दोलनको दोस्रो दिन आज देशभरका सबै स्थानीय तहमा सवारी साधनको र्याली निकालिने कार्यक्रमअनुसार सुन्दरहरैंचाका निजी विद्यालयका सवारी साधन नगरपालिकाअगाडि लहरै राखिएका थिए ।
सबै विद्यालयका सवारी साधन आइसकेपछि भएको कोणसभालाई एन प्याब्सनका प्रतिनिधि विनोद फुयाल र प्याब्सनका प्रतिनिधि मनोज रेग्मीले सम्बोधन गर्नुभएको थियो । कोणसभालाई सम्बोधन गर्दै फुयालले कम्पनी ऐनअनुसार सञ्चालन भएका संस्थालाई गैरनाफामूलक बनाउँदै लगिने व्यवस्था स्वीकार्य नहुने बताउनुभयो । त्यस्तै, १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न अधिकांश निजी विद्यालयले नसक्ने उहाँले जानकारी दिनुभयो ।
कोणसभालाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा प्याब्सनका सल्लाहकार रेग्मीले जेहेन्दार र विपन्न विद्यार्थीलाई संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिइरहेको बताउनुभयो । तर १५ प्रतिशत विद्यार्थीको शुल्क, स्टेशनरी, पोशाक, आवासको सुविधासहित छात्रवृत्ति प्रदान गर्न नसकिने उहाँले जानकारी दिनुभयो ।
नाफामा सरकारले कर नलिने हो भने १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्न पनि निजी विद्यालय सहमत हुने उहाँको भनाइ थियो । उहाँले प्रश्न गर्नुभयो, ‘कुन कम्पनीले १५ प्रतिशत उत्पादन निःशुल्क वितरण गर्ने गरेको छ ?’
कोणसभापछि विद्यालयका सवारी साधन सलकपुर, गोठगाउँ, गछिया, दुलारी, बलिया हुँदै पुनः सोही रुटबाट नगरपालिका फर्किएर आआफ्नो विद्यालय गएका थिए । र्यालीलाई ट्राफिक प्रहरीले समन्वय गरेको थियो ।







