विराटचोकः यसअघि भएको सहमति कार्यान्वयन नभएको र आफ्ना माग पूरा नभएको भन्दै फेरि नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने भएको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी माग पूरा नभएको भन्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनअन्तर्गत शिक्षक महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम राखिएको छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।
भदौ २१ गतेपछिको दोस्रो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।







