विराटचोकः यस वर्ष जेठ महिनाको दोस्रो साता मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एउटा सूचना जारी गर्दै यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गर्याे ।
यस वर्ष एक साता अघि नै मनसुन नेपाल भित्रिने अनुमानसहित जारी भएको सूचनामा मधेस प्रदेशको तल्लो स्थान र सुदूर पश्चिमका उच्च स्थान बाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो । महाशाखाको पूर्वानुमानअनुसार नै सधैँभन्दा झण्डै दुई साता अघि नै प्रि मनसुन भित्रिएर आएको बाढीपहिरोले धनकुटा, इलामलगायतका जिल्लामा क्षति पनि भयो । तर त्यसपछि वर्षा हुन सकेन । साउन आधा बितिसक्दा पनि सरदरभन्दा बढी वर्षा हुने भनेकै स्थानमा सरदरभन्दा कम वर्षा भएको छ । सरदरमै वर्षा हुने अनुमान गरिएको मधेस प्रदेशलाई त सरकारले सुख्खा क्षेत्र घोषणा गरिसक्यो ।
गत वर्ष असोजमा महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गर्नुका साथै बाढीपहिरो नै जाने पूर्वानुमान गरेको थियो । जुन पूर्वानुमान मिलेको थियो । तर यसपटक भने मौसम पूर्वानुमान अहिलेसम्म मिलेको छैन ।
अघिल्लो वर्षको असोजमा विभागले गरेको पूर्वानुमान ठ्याक्कै मिलेपछि आम सर्वसाधारणको विश्वास महाशाखाप्रति बढेको थियो ।







