विराटचोकः चालु आर्थिक वर्षको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १ दशमलव २५ प्रतिशत अर्थात् ३४ दशमलव ६१ अङ्कले बढेर २ हजार ७९४ दशमलव ७८ विन्दुमा अडिएको छ । फागुन १९ पछि पहिलो पटक कारोबार रकमले १४ अर्ब टेकेको हो । आज १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक कारोबार भएको हो । शेयर बजार ४ महिना यतकै उच्च विन्दुमा पुगेको हो । यसअघि नेप्से परिसूचक गत फागुन २५ गते २ हजार ७९० विन्दुमा थियो ।
सबै समूहमा हरियाली छाएको दिन आज विकास बैंक समूह सर्वाधिक ३ दशमलव ७१ प्रतिशतले बढ्दा सबैभन्द कम होटल समूह ० दशमलव १३ प्रतिशत बढेको छ ।
आज बुटवल पावरको सर्वाधिक ६१ करोड ८७ लाख २६ हजार ६९४ रुपैयाँको शेयर कारोबार भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा राधी विद्युत, सानिमा माई हाईड्रो, लुम्बिनी विकास बैंक र साहस उर्जा रहेका छन् ।
१० प्रतिशत बढ्नेमा कुमारी बैंकको ऋणपत्र
विकास बैंक समूह सर्वाधिक बढे पनि १० प्रतिशत मूल्य बढ्ने कम्पनीमा कुमारी बैंकको डिबेञ्चर र थ्रीस्टार हाईड्रो रहेका छन् । ग्रीन डेभलपमेन्ट बैंक, एनआईबीएल स्टेबल फण्ड, अपर हेवाखोला हाईड्रो, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ ।
बजार बढे पनि माईखोला हाइड्रोको शेयरमूल्य सर्वाधिक ७ दशमलव ८७ प्रतिशतले घट्दा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ दशमलव ९० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख ६२ हजार ३५९ रुपैयाँ कायम भएको छ ।







