Friday, December 5, 2025
Homeअर्थलेटाङले विगत वर्षमा झैँ नगरवासीसामु यसरी गर्याे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

लेटाङले विगत वर्षमा झैँ नगरवासीसामु यसरी गर्याे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

लेटाङः यही असार १० गते सम्पन्न लेटाङ नगरपालिकाको १७ औँ नगरसभाबाट पारित भएको आगामी आर्थिक वर्ष ०८२\०८३ को नीति, बजेट तथा कार्यक्रम सोमबार एक समारोहका बीच हिजो सार्वजनिक गरिएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्व सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिकाका पूर्व नगर प्रमुख शंकर राई, कोशी प्रदेशका पूर्व मन्त्री उपेन्द्र घिमिरेलगायतको उपस्थितिमा लेटाङ– ५ स्थित रेस्क्यु सेन्टरको नवनिर्मित भवनमा कार्यक्रम भएको थियो ।

नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतमा भएको कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आर्थिक वर्ष ०८२\०८३ को नीति, बजेट तथा कार्यक्रमको संक्षिप्त विशेषता र शीर्षक जानकारी गराउनुभएको थियो ।

नगर प्रमुख भुपेन्द्रकुमार लावतीले नगरपालिकाले लिंदै आएका नीति सञ्चालन गर्दै आएका कार्यक्रम, अभ्यास र अनुभवहरूबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लेटाङ नगरपालिकाले गरेको काम उदाहरणीय भएको बताउनुभयो । खापुङले ३ तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएकाले सबै समस्याहरु स्थानीय तहले समना गर्नुपर्ने हुनाले ऐन कानुन बनाएर जनताका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वसांसद घनश्याम खतिवडाले आफू सांसद भएका बेला संसदलाई सम्बोधन गर्दै माग गरेका विकास निर्माणका कामहरु अघि बढिरहेको र लेटाङको विकासमा धेरै काम भएको र हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरेले नगर क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका योजना कार्यान्वयनको अवस्था राम्रो नभएको हुनाले स्थानीय सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

लेटाङ नगरपालिकाका पूर्व नगरप्रमुख शंकर राईले बजेट नीति तथा कार्यक्रम महत्वपूर्ण रहेको भन्दै सबै मिलेर सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । आफू नगर प्रमुख भएको समयमा निकै समस्या रहेको बताउँदै भौतिक संरचनाको अभाव, नीति नियम र अनुभवको कमी तथा कर्मचारीको अस्थिरताजस्ता समस्यासँग जुध्नुपरेको हुनाले सोचेजसरी काम गर्न नसकिएको बताउनुभयो ।

दलका प्रतिनिधिको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता गोपाल नेपालीले राजनीतिक दलहरुप्रति जनतामा असन्तुष्टि देखिएको बताउँदै थोरै तर जनतालाई अनुभूति हुने गरी नमूना काम गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नगरका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्था तथा वडा नम्बर ५ को वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादातालाई सम्मान गर्नुका साथै अवकाश प्राप्त शिक्षक र विद्यालय कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम पुस्तिका, नगर शिक्षा योजना, आर्थिक ऐन २०८२, विनियोजन ऐन २०८२, खेलकुद तथा स्काउट बुकलेट २०८२, न्यायिक समितिको प्रतिवेदन २०८२, सार्वजनिक लेखा समितिको प्रतिवेदन, योजना फरफारक प्रतिवेदन लगायत नगरपालिकाका विभिन्न प्रकाशनहरु पनि सार्वजनिक गरिएको थियो ।

नगरले अघिल्लो वर्ष पनि असार ३० गते यसरी नै बृहत् कार्यक्रम गरी नगरवासीसामु बजेट सार्वजनिकीकरण गरेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments