विराटचोकः गत वर्ष आजकै दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका राजकुमार गुप्ताले घुस प्रकरणमा नाम जोडिएपछि आज मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
नेकपा एमालेबाट सांसद भएका मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिनुभएको थियो ।
राज्यमन्त्री गुप्ताले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गर्दै आगामी दिनमा प्रविधिको शिकार कोही नबनून् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ । मन्त्री गुप्ताले घुस खाएको अडियो केही दिन पहिले सार्वजनिक भएको थियो ।







