Friday, December 5, 2025
Homeफिचरबुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

बुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

विराटचोकः बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १० का बासिन्दामा बाँडफाँड गरिनेछ । बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि बाँडफाँड गरिनेछ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीले खरीद गर्न पाउने गरी निष्काशन हुन लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीले सञ्चालन गरेको १० दशमलव ७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२ दशमलव २९ वर्ष रहेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments