बेलबारीः स्रष्टा रमेश निरौलाको ‘भावका भँगालाहरू’ (गजल सङ्ग्रह) शनिबार विमोचन गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा निरौलाको उक्त कृतिको विमोचन गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेलगायतले निरौलाको कृतिको विमोचन गर्नुभएको थियो । स्रष्टा इरान राईले साहित्यकार रमेश निरौलाको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
लोकार्पित कृतिमाथि केशु विरहीले समीक्षा गर्दै निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर युवाहरूमा आशावादी स्वरसमेत सुसेलेको बताउनुभयो ।
कार्यक्रममा छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतले विमोचित कृति ‘भावका भँगालाहरू’ भित्रका रचना वाचन गर्नुभएको थियो । लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राईले गजल गायन गर्नुभएको थियो ।
बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गीतकर्मी जेबी थुलुङले गर्नुभएको थियो ।
कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवद्र्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी ‘सुसेली’लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने तत्कालीन बेलबारी गाविसका सचिव पदमविनोद घिमिरेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।







