Friday, December 5, 2025
Homeपर्यटनपर्यापर्यटनको सम्भावना बोकेको हसिना सिमसार

पर्यापर्यटनको सम्भावना बोकेको हसिना सिमसार

खेमचन्द्र अधिकारी
सुन्दरहरैंचाः १० लाख पर्यटक भित्र्याउने महत्वकाङ्क्षी योजनासहित कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यति धेरै पर्यटक भित्र्याउन कोशी प्रदेश सरकारले ८२ का ८२ गन्तव्य सूची पनि प्रकाशन गरेको छ । जुन सूचीमा हसिना सिमसार पनि समेटिएको छ ।

सुन्दरहरैंचा–५ मोरङमा रहेको हसिना सिमसार पर्या पर्यटनको सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । नमूना सामुदायिक वनको स्वामित्वमा रहेको सो सिमसार क्षेत्र सडकको पहुँचमा भएको सिमसार क्षेत्र हो । करीब ७२ बिघा क्षेत्रफल ओगटेको यो सिमसार पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र हो ।

तराईको बीचमा पहाडको अनुभूति
चार कोशे झाडीमा रहेको हसिना सिमसार तराई भूमिमा पर्ने भए पनि झट्ट हेर्दा पहाडका ससाना थुम्काहरू रहेको ठाउँजस्तो देखिन्छ । जसले गर्दा तराईभित्रै पहाडको अनुभूति हुने गर्छ । सिमसारको गेटसम्म गर्मीको महसुस गरिरहेको व्यक्तिले सिमसार प्रवेश गरेको आधा मिनेटमै शीतलताको महसुस गर्नेछ । ससाना थुम्काबीचको पदयात्रा, मनमोहक पोखरी, जङ्गलभित्रको पदयात्राले पर्यटकको ध्यान खिच्ने गरेको छ ।

झोडा क्षेत्रको रुपमा रहेको यस सिमसारमा जरुवा पानी उम्रिएको छ । सो पानीलाई जमाएर पोखरी बनाएर पर्यटकका लागि जलविहार गर्न सकिने बनाइएको छ । बाह्रै महिना जरुवा पानी उम्रने हुनाले हसिना सिमसार सधैँ भरिभराउ देखिन्छ ।

पर्या पर्यटनको सम्भावना
हसिना सिमसार नमूना सामुदायिक वन क्षेत्रभित्र पर्दछ । नेपालका सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको सम्भावना भए पनि यसको खोजी नगर्दा सामुदायिक वन पछाडि परेका छन् । मानव बस्तीसँगैै रहेका यी वनमा पर्यटनको विकास गर्न ‘साइक्लिङ’ एउटा महत्वपूर्ण सम्भावना बोकेको इभेन्ट हुन सक्छ ।

जङ्गलको काखैकाख चरा, कीरा र झ्याउँकीरीको स्वर सुन्दै, बाँदरलगायतका जनावरसँग जम्काभेट गर्दै, शान्त, हराभरा, स्वच्छ वातावरणमा साइक्लिङ गर्ने स्थानको रुपमा हसिनालाई विकास गर्न सकिन्छ । हरियाली जङ्गलको बीचमा साइकलको पाइडल चलाउन आन्तरिकमात्रै होइन तेस्रो मुलुकका पनि हजारौँ पर्यटकलाई हसिनामा भित्र्याउन सकिन्छ ।

छोटो दूरीको साइक्लिङ हसिना सिमसारभित्रै हुन सक्छ । लामो दूरीको साइक्लिङको लागि हसिनाले पूर्वतर्फ रहेका सिमसार सुन्दरहरैंचाकै बाघझोडा र बेलबारीको बेतना तथा पश्चिमतर्फ इटहरीको तालतलैया र रामधुनीको रास तालसम्म बिस्तार गर्न सक्ने देखिन्छ ।

साइक्लिङले तान्न सक्छ पर्यटक
स्वास्थ्यप्रति सचेत व्यक्तिले पछिल्लो समय साइक्लिङ गर्ने गरेका छन् । काठमाडौं वा पोखराजस्ता शहरमा मात्रै बाह्य पर्यटकले साइक्लिङ गरिरहेको पाइन्छ । ती पर्यटकलाई पूर्वमा तान्नको लागि साइक्लिङ उत्तम विकल्प हुन सक्छ । त्यसका साथै सुन्दरहरैंचा क्षेत्रमा नै रहेका साइकल प्रयोगकर्ताले हरेक बिहान साइक्लिङको लागि जङ्गलभित्रको यो रुट रोज्न सक्नेछन् । पर्या पर्यटनको विकासमा सहयोग गर्ने साइक्लिङसम्बन्धी विभिन्न प्रतियोगिता गराएर वा विभिन्न रचनात्मक कार्य गराएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

साइक्लिङबाट यसरी हुन सक्छ पर्यापर्यटन
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू संरक्षण विभागले सामुदायिक वनमा पर्यापर्यटन प्रबद्र्धन कार्यविधि २०७५ जारी गरेर पर्यटनसँग जोडिएका सम्भावनालाई प्रबद्र्धन गरी अधिकतम आर्थिक लाभ लिन सकिने व्यवस्था गरेको छ ।

वातावरण र जैविक विविधता संरक्षण गरी जलविहार, उद्यान÷पार्क, वन विहार अवलोकन, फोटो यात्रा, भिडियो छायाङ्कनजस्ता क्रियाकलाप सञ्चालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि स्थानीय सरकारसँगको सहकार्यमा विकास गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

सुन्दरहरैंचामा हसिना सिमसारभित्र छोटो दूरीको, पूर्वमा गछिया खोलासम्म बिस्तार गरेर मध्यम दूरीको तथा पश्चिममा तालतलैया वा रास तालसम्म र पूर्वमा बाघझोडा वा बेतनासम्म लामो दूरीको साइक्लिङ रुट तय गर्न सकिन्छ । सो रुटमा रहेका पोखरी, ताल, खोला, खोल्सा, झाडी, विभिन्न थुम्काथुम्की र खोँचमा काठ वा बाँसबाट निर्मित साँघुरा बाटा, फड्के, घुम्ती बाटाहरु, उकाली, ओराली, माटोका ढिस्का र साइक्लिङका लागि आवश्यक अन्य पूर्वाधार निर्माण गरी पर्या पर्यटनको विकासमा अघि बढ्न सके मनग्य लाभ लिन सक्ने देखिन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments