विराटचोकः धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार यस पटक डा. सुजना धिमाललाई प्रदान गरिने भएको छ ।
धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजना स्थल, मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जातिबाट पहिलो पटक एमबिबिएस उत्तीर्ण डा. सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालका अनुसार दमक–२, खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नु भएको हो । धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गरेर समुदायकै पहिलो डाक्टर हुन सफल हुनुभएकाले उहाँको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले जानकारी दिनुभयो ।
हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ । धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालका अनुसार युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने गरिन्छ ।
सम्मानित व्यक्तिलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गरिन्छ । यसअघि बडीबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडीबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल र नृत्यङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।







