खेमचन्द्र अधिकारी
केराबारीः चितवनकी साहित्यकार सरला शर्माको लघुकथा सङ्ग्रह ‘उसैले जन्माएको छोरो’ को परिचर्चा कार्यक्रममा पहिलैपहिलोको संयोग जुरेको छ । जेठ ३ गते केराबारी–१० स्थित श्री राष्ट्रिय पुस्तकालयलाई साहित्यमय बनाउने कार्यक्रमको आयोजना ‘नझरेका फूलहरू’ ले गरेको थियो भने ‘जेफाले सृजना डबली’ ले सहकार्य गरेको थियो ।
कार्यक्रममा स्रष्टा सरला शर्माद्वारा लिखित लघुकथा सङ्ग्रह ‘उसैले जन्माएको छोरो’ को पूर्वाञ्चल विमोचन, सो कृतिको चर्चा–परिचर्चा, सिर्जना वाचन तथा पुस्तक हस्तान्तरणलगायतका कार्यक्रम भएका थिए ।
यस्तो थियो पहिलैपहिलोको संयोग
सो कार्यक्रम पहिलैपहिलोको संयोगका रुपमा रहेको थियो । ४७ औँ शृङ्खलासम्म पुग्दा ‘नझरेका फूलहरू’ले पहिलोपटक केराबारीमा पलेँटी साँझ कार्यक्रम आयोजना गरी पुस्तक परिचर्चा गरेको थियो ।
त्यसो त विमोचित पुस्तकका बारेमा चर्चा गर्ने समीक्षकहरू पनि पहिलोपटक सो भूमिकामा थिए । परिचर्चाकार सुन्दरहरैंचा निवासी खेमचन्द्र अधिकारी साहित्य सिर्जना र सञ्चारकर्ममा संलग्न भए पनि औपचारिक कार्यक्रममा मञ्चमा पहिलो पटक प्रस्तुत भएर पुस्तक परिचर्चा गर्नुभएको थियो ।
शिक्षण पेशामा आबद्ध नवीन थापा क्षेत्री पनि पहिलो पटक परिचर्चाकारको भूमिकामा प्रस्तुत हुनुभएको थियो । कार्यक्रम आयोजना भएको स्थान श्री राष्ट्रिय पुस्तकालयका सचिव क्षेत्रीले आफू पहिलो पटक यस्ता काममा संलग्न भएको बताउनुभएको थियो ।
सुन्दरहरैंचा निवासी साहित्यकार पुरन याक्खा पनि पहिलो पटक कृतिको परिचर्चा गर्दै हुनुहुन्थ्यो ।
त्यसो त कृतिकार सरला शर्माले पहिलोपटक पुस्तक हस्तान्तरण गरेको पुस्तकालय पनि सोही पुस्तकालय थियो । औपचारिक कार्यक्रम गरेर पुस्तकालयमा पुस्तक हस्तान्तरण गरिएको पनि पहिलो पटक भएको पुस्तकालयले जनाएको थियो ।
कार्यक्रममा रचना वाचन गर्ने केही सर्जक पहिलो पटक आफ्ना रचना वाचन गर्दै हुनुहुन्थ्यो । प्रमुख अतिथिका रूपमा प्रस्तुत हुनुभएकी दलित महिला जनप्रतिनिधि मनमाया विश्वकर्मा पहिलो पटक औपचारिक कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा हुनुहुन्थ्यो ।
कार्यक्रममा रमेश निरौला, उमा सिँजापती, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, गीताप्रसाद श्रेष्ठ, पुरन याक्खा, प्रकाश भट्टराई, रुपनारायण श्रेष्ठ, यादव भट्टराई, दीप मंग्राती, वासु अधिकारी, डिकलाल लिम्बू, खेमराज आचार्यले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
कुशल उद्घोषक गजलकार युवराज ठकुरीको सशक्त स्वर र बीचबीचमा प्रस्तुत गर्नुहुने गजलका शेरको संयोजनले कार्यक्रमलाई थप साहित्यिक बनाएको थियो ।







