खेमचन्द्र अधिकारी
जन्मनुअघि गर्भभित्र सबैले बस्नुपर्छ । कति समय बस्नुपर्छ भन्ने प्राणीअनुसार फरक पर्छ । गर्भमा बस्ने जीवित प्राणीले हो र गर्भले एउटा आकार प्रकृतिमा समर्पण गरिदिन्छ । त्यसो त निर्जीव वस्तुको पनि गर्भधारण हुने गर्छ । विशेष गरी कलाकारले निर्माण गर्ने, सिर्जना गर्ने कलाकृतिले लामो वा छोटो समय गर्भमा रहेर नै एउटा आकारमा सबै सामु अनुहार देखाउने गर्छ । यसै क्रममा लामो समयको गर्भधारणपछि अनुहार देखिएको सुन्दरहैंचा–६ मोरङ निवासी पुरन याक्खाको ‘गर्भभित्र’ कविता सङ्ग्रहको बारेमा यहाँ छोटो चर्चा गर्न लागिएको छ ।
६९ थान कविता समेटिएको यस सङ्ग्रहमा २०४८ साल माघ २२ गतेदेखि २०५९ माघ ७ गतेसम्म रचित कवितालाई अटाइएको छ । ११ वर्षको समयावधिभित्र रचित यी कविताभित्र आम मानिसका सुखदुःख, पीडा, हाँसो, रोदन समेटिएको छ । राजनीतिक व्यवस्थाभित्रको विकृति, विसङ्गतिप्रति व्यङ्ग्य प्रस्तुत गर्नुका साथै देशको लागि केही गरौँ भन्ने देशभक्तिपूर्ण भाव पनि प्रशस्त मात्रामा समेटिएको पाइन्छ ।
विषयसूची पल्टाइसक्नासाथ कृतिको न्वारान गर्न सफल भएको ‘गर्भभित्र’ शीर्षकको कविता पाठकले भेट्नेछन् । सो कवितामा देशभक्तिपूर्ण भाव ओतप्रोत भएको छ । आमाप्रति भएको अन्याय र अत्याचार गर्भभित्र रहेको शिशु (कवि)ले देखिरहेको तर गर्भभित्रबाट केही गर्न नसक्ने भन्दै जसरी भए पनि आफूलाई जन्माउन कविले अनुरोध गर्नुभएको छ । जस्तैः
मेरी आमाको पीडामाथि
नुनचुक छर्नेहरुलाई
म आँधी बनेर उडाउनेछु
त्यसैले आमा मलाई जन्माऊ । (पृ.२)
अतिशयोक्ति भावयुक्त कविता
साहित्यमा असम्भवलाई पनि सम्भव बनाइन्छ । असम्भव, हुनै नसक्ने तथा पत्याउनै नसक्ने भाव भएको रचनालाई अतिशयोक्ति भाव भएको रचना भनिन्छ । कृतिभित्रको ‘महादेशको खोजी’ शीर्षकको कविता त्यस्तै कविता हो । देशहरू मिलेर महादेश बन्छ । तर कवितामा कविले देशभित्र महादेश पाएको अतिशयोक्तिपूर्ण भाव उल्लेख गर्नुभएको छ । सम्भवतः त्यो देश नेपाल हो । नेपालभित्रको राजनीतिक विकृति यसरी व्यक्त भएको छः
मैले भेटेको महादेश
अचम्मको महादेश रहेछ
यहाँ त के हुने ? के नहुने ?
सबै सबै नै हुने रहेछन्
मान्छेहरु पनि मान्छेलाई नै जोत्दा रहेछन्
अनि मान्छेले मान्छेलाई खाँदा रहेछन्
त्यसैले मैले खोजेको महादेश अचम्मको पाएँ
यो त एउटा देशभित्र पनि अर्कै महादेश पो रहेछ ।
जनयुद्धको प्रभाव
नेकपा माओवादीले वि.सं. २०५२ सालदेखि थालेको जनयुद्धका कारण नेपालीहरुको भोक, तिर्खा, निद्रा हराएको थियो । सोही दृश्यलाई देखेका कविले तत्कालीन समयको दृश्य ‘अनिदो देश’ शीर्षकको कवितामा देखाउनुभएको छ । निदाउन कोशिस गर्नासाथ अर्थात् झकाउनासाथ द्वन्द्वमा अभिभावक गुमाएका सन्तानको पीडा, चिच्याहट, आर्तनाद सुन्न थालिने र यस्तै अवस्था रहेमा देशको अस्तित्व नै समाप्त हुने हो कि भन्ने भाव देशले आत्महत्या गर्न सक्छ भन्ने अभिव्यक्तिमार्फत् प्रष्ट हुन्छ ।
आफ्नै सन्तान
अंशबण्डामा तल्लीन भएर
एकअर्कामा मारामार गरेको
दिनरात एकोहोरो हेर्दाहेर्दै
देशै अनिदो भएको छ
अनिदो बस्दा बस्दा
कुन दिन मेरो देशले
आफैँ आत्महत्या गर्न सक्छ । (पृ.१९)
वर्णविन्यासमा त्रुटिः
समग्र कृतिको वर्णविन्यास मिलेको नै पाइन्छ । कृतिभित्र कतैकतै वर्णविन्यासमा सामान्य त्रुटि पनि भेटिन्छ । जस्तैः एउट (एउटा) पृ.१०, मान्छ (मान्छे) पृ.१४, आफैँमित्र (आफैँभित्र) पृ.१२, सकुेको (सुकेको) पृ.२५, आनन्दीत (आनन्दित) ३८, सामान्त (सामन्त) ४४ आदि ।
कतैकतै अनावश्यक शब्दको प्रयोग भएको पनि पाइन्छ । जस्तैः आफैँ आत्महत्या गर्न सक्छ (पृ.१९) । आत्महत्या भनेको आफैँले आफूलाई मार्नु हो । त्यसकारण यहाँ आफैँ शब्द राख्नुपर्दैन ।
त्यस्तै, पृष्ठ २६ मा महाभारतले सजिएको भन्ने कवितांश छ । महाभारतले दोहोरो अर्थ राख्न सक्छ । एउटा अर्थले मिथकलाई सङ्केत गर्छ भने अर्काेले नेपालको पहाडी भूभागको महाभारत पर्वतलाई । यहाँ दोहोरो अर्थमा नभई प्राकृतिक सौन्दर्यलाई समेट्न खोजिएको देखिन्छ । तर अन्य कवितांशले सो भाव समेटेको हुदाँ महाभारतले सजिएको भन्ने अंश नराख्दा हुने देखिन्छ । आखिर कविता भनेको थोरैमा धेरै भन्न सक्नु पनि त हो ।
समग्रमा भन्नुपर्दा ११ वर्षको समयावधिमा रचित कविताहरुको सङ्ग्रह ‘गर्भभित्र’ का रचना कुनै सिकारुले लेखेका कवितात्मक बान्की छन् त कुनै रचना शायरी जस्ता छन् । अधिकांश रचना परिपक्व कविले लेखेका रचना झैँ गहन भाव भएका, मार्मिक, तार्किक, बौद्धिक र सुनूँसुनूँ लाग्ने, पढूँपढूँ लाग्ने किसिमका छन् । कविबाट थप कृतिको अपेक्षा पाठकले गर्न सक्ने भाव भएका रचना ‘गर्भभित्र’ समेटिएका छन् ।