Friday, December 5, 2025
Homeफिचरसुकुना बहुमुखी क्याम्पसले बैशाख ६ र ७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने 

सुकुना बहुमुखी क्याम्पसले बैशाख ६ र ७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने 

विराटचोकः सुकुना बहुमुखी क्याम्पसले शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक, विज्ञान तथा प्रविधि आदिका क्षेत्रमा ज्ञानको खोजी गर्ने, छलफल तथा बहस गर्ने, ज्ञानको प्रतिपादन गर्ने र ती ज्ञानको प्रयोगका लागि सम्बन्धित पक्षलाई सुझाव दिने लक्ष्यका साथ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।
आगामी २०८२ बैशाख ६ र ७ गते क्याम्पसले  पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो । यस सम्मेलनको मुख्य विषय उच्च शिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण रहेको छ ।  सम्मेलनमा स्थानीय क्षेत्रका ज्ञान र विश्वव्यापी रुपमा देखिएका ज्ञान तथा तिनका अभ्यासहरूको विषयमा बौद्धिक छलफल र बहस हुने बताइएको छ ।

सम्मेलनका प्रमुख उद्देश्यहरू:

  • उच्च शिक्षाको दिगोपनका लागि बहस तथा छलफल अघि बढाउनु

  • स्थानीय तथा विश्वव्यापी अभ्यासहरूको खोजी र सेयरिङ गर्नु

  • अनुसन्धान र ज्ञानको अन्वेषण तथा प्रकाशन गर्नु

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्किङ र सहकार्य विस्तार गर्नु

  • क्याम्पसलाई अनुसन्धान र बहसको केन्द्रको रूपमा विकास गर्नु

आयोजकका अनुसार सो सम्मेलनमा मानविकी र शिक्षा, व्यवस्थापन, विज्ञान र प्रविधिलगायतका थप विषयका आधारमा पनि अवधारणाहरू प्रस्तुत गरिने भएको छ ।
आयोजक समितिले ४५ दिनअघि आह्वान गरेअनुसार अनलाईन माध्यमबाट देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्च शिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनविद् तथा बौद्धिक व्यक्तित्वहरूबाट अवधारणापत्रको सारांश प्राप्त भएको छ । निर्धारित मितिसम्ममा ६७ वटा अवधारणापत्रको सारांश प्राप्त भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन बैशाख ६ गते बिहान ९ बजे क्याम्पस सभाकक्षमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीबाट कार्यक्रमको उद्घाटन हुने भएको छ । त्यसपछि दुई दिनसम्म कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।
सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्कर, आसाम डाउनटाउन युनिभर्सिटि, गुवाहिटी भारतका उपकुलपति प्रा.डा. नारायणचन्द्र तालुकदार, श्री गोविन्द गुरु विश्वविद्यालय गुजरात भारतका उपकुलपति प्रा.डा. प्रतापसिंह चौहान, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति प्रा.डा. शारदा थपलिया, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु थपलिया, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. महानन्द चालिसे, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द लुईँटेल र काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवम् नेल्टा केन्द्रीय अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवाली वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।
कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. बासुदेव काफ्ले, नेपालका लागि अमेरिकी राजदूतावासका अङ्ग्रेजी भाषाका क्षेत्रीय अधिकारी रोजर एफ. कोहेन, प्रिन्स अफ सोङ्कला विश्वविद्यालय थाइल्याण्डका सहप्राध्यापक डा. अपिराडी लिम, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयल, सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय नरप्रसाद भण्डारी र डा. दीपकप्रसाद न्यौपाने, डिग्री क्याम्पस विराटनगरका उपप्राध्यापक डा. बन्दना जैन,  अमेरिकी राजदूतावासका अङ्ग्रेजी भाषाका क्षेत्रीय कार्यक्रम विशेषज्ञ विश्व गौतम र  अतिथि वक्ताका रूपमा विश्वविद्यालय अनुदान आयोग नेपालका उपनिर्देशक नारायण भण्डारी पनि वक्ताका रूपमा रहनुहुने भएको छ ।
त्यसका साथै प्यानल डिस्कसनलगायतका कार्यक्रम हुने र ती कार्यक्रममा कम्तीमा पनि ३०० जना सहभागी हुने अनुमान क्याम्पसले गरेको जनाएको छ ।
आर्थिक स्रोतः
कार्यक्रमका लागि प्रदेश सरकार, विभिन्न नगरपालिका÷गाउँपालिका, विश्वविद्यालय अनुदान आयोग, व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानबाट प्राप्त हुने अनुदान सहयोग, अवधारणापत्र  प्रस्तोता र सहभागीहरूबाट प्राप्त हुने दर्ता शुल्क र क्याम्पसको आन्तरिक स्रोतबाट अन्तर्राष्ट्रिय सम्मेलनका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन गरिने योजना रहेको क्याम्पसले जनाएको छ ।
आयोजक समितिका पदाधिकारीः
सम्मेलन आयोजक समितिले क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालको संयोजकत्वमा ५ सदस्यीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजक समिति गठन गरेको छ ।
समितिको सदस्यहरूमा गुणराज नेपाल, नरप्रसाद भण्डारी, उषाकिरण वाग्ले र नवराज कोइराला हुनुहुन्छ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments