Saturday, May 24, 2025
Homeकला र साहित्य‘प्रेमको बाण’ अर्थात् हजुरबुबाले नातिलाई सुनाएको आफ्नो प्रेमकथा

‘प्रेमको बाण’ अर्थात् हजुरबुबाले नातिलाई सुनाएको आफ्नो प्रेमकथा

खेमचन्द्र अधिकारी

सौगात थापा अर्थात् हृदयेशको उमेर त्यति धेरै नभए पनि साहित्यमा उनको लगाव राम्रो देखिन्छ । अहिलेको बाल पुस्ता इन्टरनेट र सामाजिक सञ्जालको दलदलमा पसिरहेको अवस्थाभन्दा पर रहेर उनले आकारमा सानै भए पनि साहित्यिक कृति रचना गर्ने आँट गरेका छन् । ‘प्रेमको वाण’ शीर्षकमा उनले लघु उपन्यास प्रकाशन गरेका छन् । यसै वर्ष प्रकाशित उनको यो कृति वियोगान्त कथामा आधारित छ । नाति सौगातको जिज्ञासा समाधान गर्ने क्रममा हजुरबुबा शिवकुमारले सुनाएको आफ्नो वियोगान्त कथा यस कृतिमा समेटिएको छ ।

नाति सौगातका प्रश्नको जवाफ दिने क्रममा हजुरबुबा शिवकुमारले आफ्नो विवाह भएको वर्ष वि. सं. १९९२ भन्दा अघिदेखिको आफ्नो जीवनकथा नातिलाई सुनाएको छ । वियोगान्त कथावस्तु रहेको उपन्यासको मुख्य पात्र शिवकुमार छ । शिवरामले जीवनमा दुई पटक प्रेम गरेको छ । बनारसमा कलेज पढ्दा निरुसँग एकतर्फी प्रेम सम्बन्ध रहेको छ । त्यो प्रेम व्यक्त हुन नसके पनि अव्यक्त रुपमा दुवै पक्षलाई थाहा थियो । शिवकुमारले नातिलाई आफ्नो सो प्रेमकथा सुनाउने क्रममा भन्छ, ‘हामीले एकअर्कालाई प्रेम गर्छाैँ भन्ने कुरालाई खुलस्त पारेका थिएनौँ ……… उनीहरूको नारा सुनेर निरु पनि मुख छोप्दै हाँस्थिन् । उनी मुसुक्क मुस्कुराउँदा मेरो मनमा लड्डु फुट्थ्यो । (पृ.९–१०)

निरुसँगको शिवकुमारको प्रेम सम्बन्ध लामो समय टिकेन । एक दिन भ्रमणमा जाँदा दरबार हाइस्कुलमा सँगै पढेकी आफूले बहिनी मानेकी सरुसँग शिवको भेट हुन्छ । त्यहाँ छुट्टिने क्रममा शिवलाई सरुले अँगालो हालेको देखेर निरु रिसाउँछिन् । त्यसपछि उनीहरूको सम्बन्धमा नै पूर्णविराम लागेको पाइन्छ ।

शिवकुमारको वियोगान्त जीवनीमा आधारित प्रेमको वाणमा कृतिको नामअनुसारको वाण मुख्य पात्र शिवकुमारलाई लागेको छ । जसका कारण पत्नीको मृत्युको दुई महिना नबित्दै पत्नीशोकका कारण शिवकुमारको पनि मृत्यु भएको देखाइएको छ । हजुरबा असल प्रेमी साबित हुनुभएको भन्दै आफू पनि असल प्रेमी बन्ने नाति सौगातको अठोटसँगै कथा समाप्त भएको छ ।

उपन्यासमा शिवकुमार, सौगात, निरु, पार्वती, रुपेश, नेहा, सुबोध, सरु, शिवानी, आमालगायतका पात्रको उपस्थिति देखिन्छ ।

अमिल्दो प्रसङ्ग
नेपालमा वि. सं. १९७३ देखि टेलिफोन शुरु भएको इतिहास छ । त्यसबेला अहिलेको जस्तो सहज टेलिफोन सेवा बिस्तार भएको थिएन । शायद आकाशवाणी (आबा) मात्रै थियो होला तर उपन्यासमा अहिलेजसरी नै सहजै टेलिफोनमा वार्ता भएको (पृ.१७) बताइएको छ । त्यो फोन सम्पर्क शिवकुमारको बाबुको मृत्युको खबर दिन गरिएको थियो । बाबुको मृत्युपछि शिवले आफ्नो पढाइ पूरा गरेर जागिर खान जाने क्रममा मात्रै शिवको पार्वतीसँग भेट भएर केही समय प्रेम सम्बन्धमा रहेर १९९२ मा विवाह भएको थियो । यसरी हेर्दा १९८० देखि १९८५ सालको बीचमा शिवकुमारको घरमा टेलिफोना वार्ता भएको देखिएको छ ।

नबुझिने शब्द प्रयोग भएका वाक्य
यथवी परिवार हो त्यसैले सबै झगडा घृणाहरू प्रेममा बाँधिन्छन् । (पृ. १६–१७) यहाँ प्रयोग भएको शब्द यद्यपि हुनुपर्छ ।

चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोगमा असचतेताः
चन्द्रबिन्दुको प्रयोग नगरिँदा आत्मपरक सर्वनामका साथ प्रयुक्त क्रियापदका वाक्यले सही अर्थ दिन सकेका छैनन् । कृतिमा यस्ता वाक्य प्रशस्त पाइन्छन् । जस्तै, म घरको जेठो छोरो थिए । (पृ.१८)

पूर्णविराम र अल्पविरामको उपयुक्त प्रयोग नहुँदा केही वाक्यको अर्थ अस्पष्ट भएको छ । जस्तैः नातिले फेरि भन्छ, ‘बुबा ! बाबा मामु पनि जानु भयो दिदीसँग म तपाईँसँगै बस्नु अरे ।’ (पृ.६)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments