खेमचन्द्र अधिकारी
विराटचोकः बहुमुखी प्रतिभाकी धनी साहित्यकार तिला लेकालीको पछिल्लो कृति ‘खुर्पे जून’ कविता सङ्ग्रह बजारमा आएको छ । लेकालीका खुर्पे जूनसहित कविता, गजल, र हाइकु सङ्ग्रह प्रकाशित भएका छन् । संयुक्त सङ्ग्रहका रुपमा गजल, हाइकु, मुक्तक, कथा, निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् ।
६९ थान छोटा कविता समेटिएको ‘खुर्पे जून’ मा सामाजिक विकृतिको भण्डाफोर गरिएको छ । कृतिभित्रका धेरै कवितामा सामाजिक विकृतिविरुद्ध विषवमन गरिएको छ ।
सामाजिक विकृतिका धेरै पक्षमाथि कवितामा औँला उठाइएको छ । कतिपय कवितामा एउटा विकृतिमाथि त केही कवितामा अनेकौँ विकृतिमाथि औँला उठाइएको छ ।
कृतिभित्र रहेको अछुत शीर्षकको कवितामा समाजमा व्याप्त छुवाछुतको विषय उठाइएको छ । नारीको अस्मितामाथि खेलबाड गर्नेले नारीलाई सामाजिक दलदलमा पारेर आफू भने उम्किने गरेको विकृत सामाजिक चित्रण लैजाऊ प्रिय कवितामा गरिएको छ ।
मरेपछि पिण्ड दिने छोराको आशमा धेरै बाबुआमा रहन्छन् । सात जना छोरीको जन्मपछि बुढेसकालमा जन्मिएको छोराले आफू किशोर अवस्था पार नहुँदै आमाबाबुलाई वृद्धाश्रम पुर्याउने गरेको तथ्यलाई कविले ‘जिउँदैमा पिण्डदान’ दिएको भनी व्यङ्ग्य गर्नुका साथै समाजको डरलाग्दो विकृतिको उजागर गर्नुभएको छ ।
कृतिभित्रका धुपौरे, दुखाइ, महापागल, रञ्जन र रञ्जनहरु, केही प्रश्न, उच्च आकृति, घोप्टे जुँगाहरु, ऊ र फूल, इतिहास लेख्नु सधैँ यसरी नैलगायतका शीर्षक भएका कवितामा सामाजिक विकृतिको पर्दाफास गरिएको छ ।
खुर्पे जूनभित्र व्यङ्ग्यभाव भएका कविता पनि प्रशस्त पाइन्छन् । अनुहारको चमकलाई मात्रै सुन्दरता ठान्नेहरुप्रति व्यङ्ग्य गरिएको शृङ्गार शीर्षकको कविता छोटो र चोटिलो छ । परिवर्तन १ शीर्षकको कवितामा राजनीतिक विकृतिमाथि व्यङ्ग्य गरिएको छ । न्याय सम्पादन गर्नेहरुले सही ढङ्गले न्याय सम्पादन गर्ने गरेको नपाइएको र वकिल बन्ने आफ्नो सपना नै तुसारापात गर्न नेपालीहरु बाध्य भएको प्रसङ्लाई ‘काला कोटहरु’ शीर्षकको कवितामा दह्रो झापड हानिएको छ ।
त्यस्तैगरी, परिवर्तन २, काल, लैजाऊ प्रिय, मैनबत्ती, न्याय मरेको देश, क्याप्टेन साब, तिमी र म, सेतो कि कालो, फरक, प्रेम, पिण्डदान, ब्वाँसाहरु, निगाह बक्स, ढाडे बिरालो, चप्पलहरु, युद्ध, गरिब, धुपौरे, आँखाहरु, दुखाइलगायतका कवितामा तीखो व्यङ्ग्य पाइन्छ ।
श्रमप्रति सम्मान गर्नुपर्छ भन्ने भाव प्रिय श्रमिक शीर्षकको कवितामा तथा अभिभावक नहुँदाको पीडाको प्रसङ्ग अभाव शीर्षकका कविताले उजागर गरेका छन् ।
खुर्पे जूनमा बिम्ब र प्रतीक प्रशस्त पाइन्छ । कृतिको नाम राखिएको कविता नै बिम्ब र प्रतीकयुक्त छ । कृतिमा बिम्बात्मक र प्रतीकात्मक शीर्षक भएका कविता पाइन्छन् । वृद्ध पहाड, खुर्पे जून, बुद्ध पहाड आदि यस्ता शीर्षक हुन् ।
त्यस्तै कवितामा पनि बिम्ब र प्रतीक झल्काउने प्रशस्त पद, पदावली, वाक्यांश आदि पाइन्छ । जस्तै, काँडाभित्रको फूल, भुसभित्रको सग्लो चामल, कटुसभित्रको दिउल, नरिवलभित्रको गुदी, निरक्षरभित्रको ज्योति, दूधभित्रको नौनी, पानीभित्रको बिजुली, खरानीभित्रको आगो, अमरसिंह र भक्ति थापाका सन्तान आदि ।
यस कृतिमा आशा जगाउने, सन्तानप्रतिको माया जनाउने, देशप्रेमले ओतप्रोत भएका भाव बोकेका कविता र कवितांश पाउन सकिन्छ ।
कृतिभित्र केही व्याकरणिक त्रुटि पनि पाइन्छ । शिरबिन्दु, चन्द्रबिन्दु, उद्गार चिह्न, आदिको प्रयोगमा कतैकतै अचेतता पाइन्छ । जस्तैः अगेनो (१०, १५), भूल, लैजाऊ प्रिय, क्याप्टेन साब तपाइँ, गर्नुहुदैँछ, (२२), पाउदिन (२५), चाडो, तपाइँ (२८), सकिन्न, नपर्खाै (३७), भविस्य (४०), फुल्दिन, फुल्दिँन (४६), आगन, साल्दाइ, रचाउछन् (८१) आदि ।
केही कवितामा भाव गाम्भीर्यताको कमी भए पनि अधिकांश कविता ओजयुक्त छन् ।







