विराटचोकः फागुन १७ गतेदेखि शुरु हुने नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिको छनोट गरिएको छ ।
जिल्लाका १७ स्थानीय तहका १५९ वटा वडाहरुबाट एमालेले शनिबार जिल्ला अधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो । अधिवेशनमा ९१० जना प्रतिनिधि सहभागी हुने भएका छन् । तीमध्ये भूगोलबाट शनिबार ६७६ जना प्रतिनिधि चयन भएका हुन् । पार्टीका विभिन्न जनवर्गीय संगठनहरुबाट १८८ जना प्रतिनिधि निर्वाचित हुनेछन् भने ४६ जना प्रतिनिधि जिल्ला कमिटीले मनोनित गर्नेछ ।
जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघ, खेलकुद महासंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आदिबाट पाँच जनाका दरले प्रतिनिधिहरु छानिने छन् भने ‘ख’ वर्गका संगठनहरु प्रेस चौतारी, कर्मचारी संगठन आदिबाट तीन जनाका दरले प्रतिनिधि निर्वाचित हुने बताइएको छ ।
अधिवेशनबाट पार्टीको जिल्ला अध्यक्ष बन्नका लागि वर्तमान जिल्ला अध्यक्ष बाबुराम कार्की, विराटनगर महानगरका पूर्व अध्यक्ष सागर थापा, कोशी प्रदेशसभाका पूर्व सांसद राजकुमार ओझाका साथै महेश भट्टराई, इरान राई र अजम्बर राईको नाम चर्चामा छ । अध्यक्ष पदका दुई जना दाबेदारहरु रुपेश खतिवडा र अञ्जु उपाध्याय प्रतिनिधिको चुनावबाटै पछाडि हटेर उम्मेद्वारी फिर्ता लिए पनि जिल्ला कमिटीबाट उहाँहरु मनोनित हुने सम्भावना रहेको बताइएको छ ।







