खेमचन्द्र अधिकारी
सिजन श्रेष्ठ साहित्यिक क्षेत्रमा परिचित नाम हो । विभिन्न सञ्चार माध्यममा फुटकर रचना प्रकाशन, प्रशारण गरेर, विभिन्न प्रतियोगितामा भाग लिएर विजयी बनेर तथा विभिन्न साहित्यिक पत्रिकाको प्रकाशन तथा सम्पादन गरेर साहित्य क्षेत्रमा चर्चित सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ पहिलो कृति हो ।
वि.सं. २०६७ सालदेखि २०७६ सालसम्म रचना गरेका कविताको पुस्तकाकार रुप हो इटर्नल पब्लिकेसनबाट २०८१ बैशाखमा प्रकाशित कृति ‘हावामा अल्झिएको स्वर ।’ यस कृतिमा विविध क्षेत्रका विम्बहरूको उच्चतम प्रयोग हुुनुका साथै केही नवीन शब्दको प्रयोगका कारण वाचनमा मिठास थपेको पाइन्छ ।
आवरण पृष्ठभित्र राखिएको ‘बुकमार्क’ शीर्षकको कवितासहित ५३ ओटा कविता समावेश कृतिमा समावेश भएका कुनै कविता सरल छन् भने कुनै कविता अधिक विम्बले जेलिएका कारण क्लिष्ट छन् । कृतिभित्रको मूल कविताको शीर्षकबाट कृतिको नाम राखिने चलनको अन्त्य गर्दै उनले त्यसभन्दा फरक शीर्षकमा कृतिको नाम राखेका छन् ।
हावामा कस्तो स्वर अल्झिएको होला भन्ने विषय जान्ने पाठकको उत्सुकता मेटिदैँन । अभिधा अर्थमा कृतिको नामअनुसारको कविताको आस्वादन पाठकले गर्न नपाए पनि हरेक कवितामा लक्षणा वा व्यञ्जना अर्थमा भने त्यस्तो भाव लुकेको पाउन सकिन्छ । कविले आफ्नी प्रेमिकालाई भन्न नसकेका कतिपय कुरालाई भावमा व्यक्त गरेका हुनाले तिनै व्यक्त हुन नसकेका वाणीलाई उनले हावामा अल्झिएको स्वर भनेर इङ्गित गरेको पाइन्छ । अधिकांश कविता चेतनप्रवाह शैलीमा व्यक्त भएको पाइन्छ ।
हावा अदृश्य वस्तु भएकाले त्यसमा स्वर अल्झिएर बसिरहन नसकेपछि कृतिको रूपमा बाहिर आएको देखिन्छ । प्रेमिकालाई भन्न नसकेका विषयमात्रै होइन बाल्यकालमा सोचेका र सोध्न नसकेका विषय पनि कवितामा प्रशस्त पाइन्छ । बालमनोविज्ञानको सशक्त नमूनाको रूपमा उड्ने खोलो कविता प्रस्तुत भएको छ । आफ्नो गन्तव्यमा पुग्ने तगारोको रूपमा रहेको खोलो हावाजस्तै माथिबाट उडेर गएर मलाई हिँड्ने बाटो दिए हुनेथियो भन्ने बालमनोविज्ञान कवितामा पाइन्छ ।
कृतिमा विम्ब र प्रतीकहरूको प्रयोग छरपष्ट भए पनि त्यसले अर्थज्ञानमा बाधा उत्पन्न भने गरेको पाइँदैन । त्यसो त केही बिम्ब र प्रतीकको अर्थ उनले पादटिप्पणीमा प्रस्तुत पनि गरेका छन् । कृतिभित्र धार्मिक, पौराणिक, ऐतिहासिक, लौकिक आदि विम्ब र प्रतीकको प्रयोग भएको पाइन्छ । महादेव, अहिल्या, सुपर्णखा, भस्मासुर, अशोकचल्ल, क्राचल्ल, सुनकेशरी मैयाँ, रामापिथेकस, सुनाखरी, उल्कापिण्ड, पुङ्केशर, जूनकिरी, यार्सागुम्बा, जलपरी, बेलचन्डा, वरपीपल, ढुङ्गेफूल, स्वर्गचरी, फिनिक्स, डाइनोसर आदि उनले प्रयोग गरेका विम्ब र प्रतीक हुन् ।
आफ्ना कवितामा जादुयीजस्ता केही नयाँ शब्दको प्रयोग गरेका उनले कृतिभरी प्रशस्त मात्रामा पद, पदावली र वाक्यका तहसम्ममा विम्ब, प्रतीक र आञ्चलिकता झल्किने शब्दको प्रयोग गरेका छन् । डुम्रे खोलो, दर्सिन ढुङ्गो, खल्र्याङखुट्टी खेललगायतका आञ्चलिकता झल्कने शब्दका कारण कवितामा मिठास थपिएको छ ।