गोठगाउँः विद्याकी देवी सरस्वतीको पूजा गर्ने तथा विद्यालय जाने उमेर समूहका नानीबाबुलाई अक्षरारम्भ गराउने दिन सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचाले भने नवीन कार्य गर्न थालेको छ ।
सरस्वती पूजा सँगसँगै विद्यालयको वार्षिक परीक्षा तथा विद्यालयमा वर्षभर भएका प्रतियोगितामा विजयी हुने तथा विद्यालयबाहिर भएका विभिन्न प्रतियोगितामा विद्यालयबाट सहभागी भएर विजयी हुनेलाई सो एकेडेमीले सम्मान गरी पुरस्कार प्रदान गर्ने गरेको छ । सोमबार पनि विद्यालयमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गर्नुका साथै सोही दिन सिङ्गिङ आइडल तथा डान्सिङ आइडलको फाइनल प्रतिष्पर्धा गरी विजेता घोषणा गरिएको छ । विद्यार्थीले आयोजना गरेको विज्ञान प्रदर्शनीको पनि अभिभावकले रुचिपूर्वक अवलोकन गरेका थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा सोमबार भएको कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै विद्यालयका निर्देशक विनोद फुयालले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुने खालका कार्यक्रम गर्न र विद्यार्थीलाई त्यस्ता कार्यक्रममा सहभागी हुन उत्प्रेरित गर्न विद्यालय सधैँ तत्पर रहने बताउनुभयो ।
प्रमुख अतिथि आलेमगरले सुन्दरवाटिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य तथा नाटक पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यसम्म बसेर विद्यार्थीको प्रतिभा अवलोकन गर्ने सबै अभिभावकलाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो ।
सुन्दरवाटिकासँग सम्बन्धित थप समाचारः
सुन्दरवाटिका एकेडेमीका विद्यार्थीले यसरी विद्यालयमा सिके लक्ष्मीपूजा, भाइटीका र छठको महत्व







