गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेपालीको संस्कार र संस्कृति सिकाउने कार्यक्रमअन्तर्गत बुधबार तिहार र छठ पर्वसम्बन्धी जानकारी दिन विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षणमा लक्ष्मीपूजा गर्ने तरिका, भाइटीका लगाउने तरिका र छठ पर्व मनाउने तरिका रहेको थियो । कक्षा नर्सरीका विद्यार्थीलाई लक्ष्मीपूजा गर्न सिकाइएको थियो । त्यस्तै एलकेजीका विद्यार्थीलाई भाइटीका लगाउने तरिका र युकेजीका विद्यार्थीलाई छठ पर्व मनाउने तरिका सिकाइएको थियो । सानैदेखि सांस्कृतिक पर्वको बारेमा जानकारी दिन नर्सरीका विद्यार्थीलाई लक्ष्मीपूजाको महत्व र लक्ष्मीपूजा गर्ने तरिका सिकाइएको प्रिन्सिपल जानुका ओझाले जानकारी दिनुभयो ।
सप्तरङ्गी टीका लगाउन सिकाउने, भाइ मसला दिने, सयपत्री फूलको माला, ओखर फुटाउने, तोरीको तेलको घेरा बनाउने, टाउकोमा तेल लगाउने र ढाकाटोपी लगाउने आदि विधि सिकाइएको विद्यालयका संस्थापक प्रिन्सिपल विनोद फुयालले बताउनुभयो ।
छठ पर्वका चारै दिनमा गरिने कामको बारेमा जानकारी गराइएको थियो । सिक्ने क्रममा सांस्कृतिक पहिरनमा विद्यार्थी आफैँ सहभागी भएका थिए । छठ पर्वका लागि विद्यालयको प्राङ्गणमा अस्थायी छठघाट निर्माण गरिएको थियो । विद्यार्थीले छठ र सूर्य देवताको उपासनाको विधि सिकेर आफैँ त्यसमा सहभागी हुँदा धेरै ज्ञान बढ्ने शिक्षक अनुकुमारी साहले जानकारी दिनुभयो ।
विद्यार्थीद्वारा सञ्चालन गरिएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य शिक्षक लक्ष्मी भट्टराईले राख्नुभएको थियो । कार्यक्रममा दर्जनभन्दा बढी विद्यार्थीले तिहार र छठसम्बन्धी आफ्नो धारणा राखेका थिए । केही विद्यार्थीले तिहार र छठसम्बन्धी कविता वाचन गरेका थिए । प्रत्येक कक्षाका विद्यार्थीले देउसीभैलो गीतमा नृत्य प्रस्तुत गरेका थिए । सामुहिक देउसी नृत्यको एउटंै गीतमा ५६ जना विद्यार्थी सहभागी भएका थिए ।