विराटनगरः चुडाकवि स्मृति प्रतिष्ठानले माघ १६ गते गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बनेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउनुहुने भएको छ ।
स्मृति बोर्डिङ स्कुल बुढीगंगामा हुने प्रतियोगिताको बारेमा प्रतिष्ठानले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानकी महासचिव रीता न्यौपानेका अनुसार प्रतियोगितामा मोरङका सामुदायिक र संस्थागत गरेर ४८ वटा विद्यालय सहभागी हुने भएका छन् । यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउन्डेसनले आयोजना गर्ने बताइएको छ ।
‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै तर्फकालाई नगदसहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार रुपैयाँ राशीको सो पुरस्कार पक्ष र विपक्ष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले पाउनेछन् । सहभागी सम्पूर्ण विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिने तथा हरेक विद्यालयबाट एक छात्र र एक छात्राले वादविवादमा भाग लिन पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सिस्नुपानी नेपालका सरोज घिमिरे, लेखक सुविन भट्टराई र शिक्षाविद् भेषजा काफ्ले निर्णायकको भूमिकामा रहनेछन् । कार्यक्रममा बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकालाई सम्मान पनि गरिने भएको छ ।







