सलकपुरः पछिल्लो समय सुन्दरहरैंचामा राजमार्ग उत्तरका बस्तीमा हात्तीले दुःख दिइरहेको छ । हात्तीले बालीनाली नाश गर्नुका साथै आक्रमण गरी मानिसको ज्यान नै लिन थालेपछि पीडित बनेका सलकपुरवासीले हिजो सब डिभिजन वन कार्यालय सलकपुरमार्फत् वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयवासीको तर्फबाट ज्ञापनपत्र बुझाउने क्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका सभापति घनिन्द्र न्यौपानेले हात्ती नियन्त्रणमा तथा क्षति न्यूनीकरणमा कदम नचाले स्थानीयवासी आन्दोलित हुन बाध्य हुने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रमुख गोपाल दाहालले हात्ती धपाउन आफ्नो कार्यालयबाट आफूसहितको ३ वटा टोली बनाएर गस्ती गरिरहेको बताउनुभयो । ज्ञापनपत्र आफूले माथिल्लो कार्यालयमा पठाउने र यस कार्यालयबाट पनि हात्तीबाट हुने हानि नोक्सानी कम गराउन आवश्यक काममा कमी हुन नदिने बताउनुभयो ।








