खेमचन्द्र अधिकारी
विराटचोकः इन्द्रपुर जेसीजको सन् २०२५ का लागि अध्यक्ष चयन भएका आकाश दुलाललाई सन् २०२४ का अध्यक्ष उत्सव थापाले पदभार हस्तान्तरण गरेको हिजो ११ दिनमात्रै पूरा भएको छ । पदभार ग्रहण गरेको १२ औँ दिनमा दुलालले इन्द्रपुर जेसीजकै इतिहासमा कपडा बैंक स्थापनाको नयाँ अभियान शुरु गर्ने घोषणा गर्नुभएको छ । आज पुस २९ गतेदेखि माघ ४ गतेसम्म कपडा सङ्कलन गरी माघ ५ गतेदेखि १२ गतेसम्म ती कपडा विपन्न परिवारका व्यक्तिलाई वितरण गरिने भएको हो ।
‘हुनेले दिने, नहुनेले लिने’ भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना गर्न लागिएको र यस वर्ष आफ्नो प्रकरण ‘वान कम्युनिटी, वान फ्युचर’ रहेको अध्यक्ष दुलालले आइतबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस कार्यमा सबैको सहभागिता आवश्यक पर्ने बताउँदै दुलालले आफ्नो घरमा रहेका लगाउन मिल्ने कपडा सफा गरेर जेसीजलाई उपलब्ध गराइदिएर यस अभियानलाई सफल बनाउन अनुरोध गर्नुभयो । आफूसँग भएका कपडा लिन जेसीजलाई अनुरोध गरेमा दाताको निवाससम्म नै जेसीजकर्मी पुग्ने पनि उहाँले बताउनुभयो ।
इन्द्रपुर जेसीज २०२५ का सल्लाहकार तथा पूर्व अध्यक्ष डिल्ली ढकालले यो अभियानको सोच इन्द्रपुर जेसीजले पहिलेदेखि नै राखेको भए पनि यस वर्षदेखि शुरुवात गरिएको बताउनुभयो । धेरै व्यक्तिका घरमा आफूलाई नचाहिने कपडा रहेको र ती कपडाको व्यवस्थापन नभइरहेको हुनाले अभियान शुरु गरिएको उहाँको भनाइ थियो ।
इन्द्रपुर जेसीजका निवर्तमान अध्यक्ष उत्सव थापाले ठूला शहरमा यस्ता अभियान सफल हुने बताउनुभयो । विपन्न वर्गका व्यक्तिले कपडा लिएर जाँदै गरेका तस्बिर र भिडियो नखिचिने बताउनुहुँदै यस कार्यले अभियान सफल हुने उल्लेख गर्नुभयो । तस्बिर र भिडियो खिच्दा कपडा लिनेलाई हीनताबोध हुने र अभियान सफल हुन पनि समस्या हुने भएकाले तस्बिर र भिडियो नलिइने उहाँले जानकारी दिनुभयो ।
सङ्कलित कपडा माघ ५ गतेदेखि १२ गतेसम्म वाकिङ स्ट्रिट विराटचोकबाट वितरण गरिने भएको छ । अभियान सफल भएमा खोर्साने वा हरैंचामा निर्माणाधीन सार्वजनिक पुस्तकालय तथा शौचालयको भवनबाट स्थायी रूपमा कपडा बैंक सञ्चालन गरिने जेसीजले जनाएको छ ।