विराटचोकः आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पसको मैदानमा आठौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ ।
यस एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने मात्र नभएर उद्यमी व्यवसायीलाई व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।
स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थित बनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेट सहितको सहकार्य गरेको छ । निजी क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट विराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा विराटनगर इन्कुबेशन सेन्टरको स्थापना गरिने भएको छ ।







