काठमाडौंः प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा लोक सेवा आयोगले अधिकृत स्तरको पदमा निजामती सेवामा प्रवेश गर्न उमेर हद घटाउन सुझाव दिएको छ ।
आयोगका अध्यक्ष माधव रेग्मीले समितिको बैठकमा सेवा प्रवेश गर्ने अधिकतम उमेर पुरूषको हकमा ३२ वर्ष र समावेशी समूह अन्तर्गतको महिला र अपाङ्गता भएकाको हकमा ३७ वर्ष कायम गर्न सुझाव दिनुभएको हो । अहिलेको निजामती सेवा विधेयकमा पुरूषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्षसम्म सेवा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।
शिक्षाको अवसर र पहुँचका आधार बढेको, लोकसेवाकै तयारीमा लामो समय बिताउँदा युवाहरूको जीवन बर्बाद भएको, सार्क क्षेत्रका मुलुकहरूमा नेपालमा भन्दा पनि कम उमेरमा सेवा प्रवेशको व्यवस्था रहेको तथा लोक सेवा आयोगमा आवेदन दिनेमध्ये पछिल्लो उमेर समूहमा थोरै व्यक्ति रहेको र उनीहरूको उत्तिर्ण प्रतिशत पनि निकै कम रहेको हुनाले नयाँ व्यवस्था गर्नुपर्ने प्रस्ताव राखिएको उहाँले बताउनुभयो ।







