विराटचोकः नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल\रेस्टुरेन्ट रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले बुधबार ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सार्वजनिक गर्दै ती होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ बराबर रहेको जनाएको छ ।
यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ मा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र राखिएकोमा यस पटक होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह, सेवा सदन, छात्रावास, होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ, पार्टी प्यालेसको विस्तृत विवरण सङ्कलन गरेको जनाइएको छ ।
शिक्षण संस्थाबाट सञ्चालित छात्राबास तथा कार्यालयभित्रका आवासगृह, मठमन्दिर, गुम्बा परिसरमा सञ्चालनमा रहेका धर्मशाला र सामूहिक आवासगृह तथा सडक पेटी वा खुला स्थानमा सञ्चालित भोजन सेवा यस पटक पनि नसमेटिएको बताइएको छ ।
१ साउन २०७९ देखि ३० असार २०८० सम्म सर्वेक्षण गरिएको थियो ।
देशभरि रहेका डेढ लाख होटलमध्ये १ हजार १ सय २१ होटलमा पूर्ण रुपमा विदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल र ४८ मा विदेशीको संयुक्त लगानी रहेको देखिन्छ । देशका ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।