गोठगाउँः बुधबार बिहान साढे ८ बजे गोठगाउँ चोकबाट उत्तर पश्चिमतर्फ पञ्चेबाजाको साथमा एक हुल मानिस पैदल लागेपछि धेरैले उत्सुकतापूर्वक हेरे । विवाहको लगन जुर्ने महिना भएकाले कसैको विवाहमा बजाइएको बाजा हो कि भन्ने धेरैको अनुमान थियो ।
गोठगाउँ चोकबाट १५० मिटरजति उत्तर पश्चिम पुगेर फुलिरहेको तोरीबारीभित्र सो हुल पसेपछि छेउछाउका घरका सबै मानिस आआफूले गरिरहेको काम छोडेर त्यतै दौडिए । सो हुलमा आएका कोही नाच्न थाले भने कोही रमिता हेर्न त कोही तोरीबारीको बीचमा खाल्डो खन्न थाले ।
त्यो थियो, सामाजिक मिलन केन्द्रको भवन शिलान्यासका लागि तामझामका साथमा पुगेको टोली । सो टोलीमा पञ्चेबाजाको साथमा पञ्चकन्या र प्रमुख अतिथिको रुपमा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ पनि हुनुहुन्थ्यो । पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, भवन निर्माणका लागि १५ धुर जग्गा दान दिने दाताको परिवारका हीरा भट्टराई, उहाँका पिता भीमप्रसाद भट्टराई र जीवनसाथी गीता भट्टराईको साथमा झण्डै २ सयको हाराहारीमा भवन शिलान्यासस्थलमा स्थानीयहरु भेला भएका थिए ।
पण्डित मधुसुदन घिमिरेले वैदिक मन्त्र उच्चारण गर्नुभएपछि नगप्रमुख गुरागाईँ, पूर्व नगरप्रमुख ढकाल, सामाजिक मिलन केन्द्रका अध्यक्ष गंगानाथ पोखरेल, जग्गादाता हीरा भट्टराईलगायतले संयुक्त रुपमा भवन निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । आफ्नी स्वर्गवासी आमाको सम्झनामा आफूले १५ धुर जग्गा निःशुल्क र थप २ कठ्ठा जग्गा चलनचल्तीको आधा दाममा आफूले मिलन केन्द्रलाई बिक्री गरेको जग्गादाता भट्टराईले बताउनुभयो ।
शिलान्यासपछि केन्द्रको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरागाईँले मिलन केन्द्रको भवन निर्माणका लागि आवश्यक पर्ने बजेट विभिन्न निकायबाट जुटाउन आफूले सक्दो प्रयास गर्ने र जतिसक्दो बलियो र आकर्षक भवन बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
मिलन केन्द्रका आजीवन सदस्य हरि बस्नेतले बन्न लागेको सो भवनको एक तलामा सङ्ग्रहालयको परिकल्पना गरिएको बताउनुभयो ।
समाजसेवी दिनेश राउतले भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब सामाजिक मिलन केन्द्रले थप सिर्जनात्मक काम गर्न सक्ने बताउनुभयो ।
सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक उमेश उप्रेतीले देशभरका मानिस गोठगाउँमा ओर्लिएर मिलन केन्द्रले गरेको काम हेर्न जाने वातावरण बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।
एक वर्ष अघि दर्ता भएर सामाजिक गतिविधि गरिरहेको मिलन केन्द्र सुन्दरहरैंचाकै उत्कृष्ट संस्थाको रुपमा परिचित छ ।