विराटचोकः स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भएको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ । स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ । नेपाली नागरिक र नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने बताइएको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडका अनुसार किमाथांका अरुणको क्षमता ४५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । त्यस्तै, ४ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान रहेको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९०२ मेगावाट हो ।