दमकः दमक– ३ तोरीबारीमा निर्माण भएको १०० मिटर अग्लो बिजनेस टावरको आज नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आइतबार काठमाडौंबाट आएर दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गरेपछि साढे १ बजे दमक–३ मा रहेको बिजनेस टावर उद्घाटन गर्नुहुने भएको हो ।
झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको व्यापारिक केन्द्र सहितको सो भ्यु टावरले पूर्वी नेपालको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको टावर नेपालकै नमुना र फरक डिजाइनमा तयार भएको छ । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यु टावर १ सय मिटर अग्लो रहेको छ ।
दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण गरिएको भ्यु टावर लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावर हो ।
दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको भ्यू टावरको ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण कार्य अवधि थपिएको थियो ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओली पहिलो पटक गृह जिल्ला झापा आउन लाग्नुभएको नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिनुभयो ।
२४ गते १० बजे बेलडाँगी खानेपानीको उद्घाटन गरेर ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पूर्जा वितरण गर्ने प्रधानमन्त्रीको कार्यतालिका छ । सो दिन दिउँसो साढे १२ बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गरेपछि दिउँसो २ बजे बिर्तामोडको सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गरेर प्रधानमन्त्री काठमाडौं फर्किने कार्यतालिका छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको सो भ्यु टावर गत जेठ १० गते उद्घाटन गर्ने कार्यक्रम रहे पनि त्यस समयमा उद्घाटन हुन सकेको थिएन ।