गछियाः झापा, मोरङ र सुनसरीका मुख्य सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछियामा आयोजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो ।
विराटनगरबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक अशोक टुडुलाई पहिलो कार्ड हस्तान्तरण गरेर कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले औपचारिक सुरुवात गर्नुभएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा टाइम कार्ड सुरु गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ‘ज्वाला’ले जनाउनुभयो ।
धरान, काँकडभिट्टा, विराटनगर, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशी कटान र भन्टाबारीमा ट्राफिक प्रहरीले टाइमकार्ड जाँच गर्ने भएका छन् ।