Monday, December 23, 2024
Homeफिचरमृत्युपश्चात् अङ्गदान गर्नेका परिवारले २ लाख पाउने

मृत्युपश्चात् अङ्गदान गर्नेका परिवारले २ लाख पाउने

विराटचोकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अङ्गदान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि, त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत् एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

अङ्ग दानमा सघाउने अस्पताललाई यस अघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

मन्त्री पौडेल स्वयम्ले पनि अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । उनीहरुले मृत्युपश्चात हुने दानमा धेरै भर पर्नुपर्छ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अङ्गदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।

हाल भक्तपुरको शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

नेपालमा मृगौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments