अष्ट्रेलियाः अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउण्डेसनका संयोजक, डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरस्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन् । नास्टद्वारा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरेका थिए ।
स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप, ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न डा. अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् । दाङको देउखुरी मुसुरियाका डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआईटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन् ।