विराटचोकः आज सुनको मूल्य तोलामै १५ हजार ९०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । सरकारले हिजो सुनको भन्सार दर घटाएको थियो । जसको असर आजको सुन बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८४५ रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ प्रति तोला १ लाख ६७ हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजा ९६० रुपैयाँ थियो ।
हिजो सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।
सरकारले हिजो सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो ।
भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको विभाग स्रोतले जानकारी दिएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । तर भारतमा भने सरकारले भन्सार दर घटाएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।