गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारणसभा केन्द्रको कार्यालयमा सम्पन्न भएको छ । साधारणसभाले केन्द्रका अध्यक्ष गंगानाथ पोखरेल ‘शिवजी’ ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र सचिव रोहिणी कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले ‘हाँसेर बाँचौँ, मिलेर बसौँ’ भन्ने नारा बोकेको सामाजिक मिलन केन्द्रको छहारीमा सबै जना अटाउन सक्ने बताउनुभयो ।
पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले समाजका प्रबुद्ध वर्गहरु भेला हुने सामाजिक मिलन केन्द्रमा ज्येष्ठ नागरिकहरुको बाहुल्यता देखिने बताउनुभयो । दुर्गापूजा सञ्चालन गर्दा सङ्कलन भएको रकमको ४ देखि ५ प्रतिशतमात्रै खर्च भएको देख्दा आफूलाई आश्चर्य लागेको उहाँको भनाइ थियो । यस्तो मितव्ययिता अन्य संस्थाले गर्न नसक्ने हुनाले केन्द्रको मितव्ययिता र खर्चको पारदर्शिता अनुकरणीय भएको उहाँको भनाइ थियो ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले राजनीति र जातीय पक्षधरताभन्दा माथि उठेर समाजमा आफ्नो पहिचान बनाउन केन्द्र सफल रहेको बताउनुभयो ।
सामाजिक व्यक्तित्व मित्रसेन योञ्जनले उदार हृदय भएका व्यक्ति र सरकारी संयन्त्रका विभिन्न महत्वपूर्ण पदमा बसिसकेका व्यक्तिको बाक्लो बसोबास भएको गोठगाउँमा मिलन केन्द्रले चाँडै आफ्नो भवन बनाउन सक्ने उल्लेख गर्नुभयो । दिल खोलेर सामाजिक मिलन केन्द्रलाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामाजिक व्यक्तित्व अनुरोध साहले ‘तँ आँट म पुर्याउँछु’ भनेजस्तो व्यवहार सामाजिक मिलन केन्द्रले गरेको बताउनुभयो । आजीवन सदस्यहरुको विकृतिरहित जन्मदिन मनाउने, हरेक चाडपर्व संस्थागत रुपमा मनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका उदाहरणीय काम संस्थाले गरेको उहाँले उल्लेख गर्नुभयो ।
सामाजिक व्यक्तित्व दिनेश राउतले सामाजिक सद्भावको उच्च व्यवहार हेर्न सामाजिक मिलन केन्द्र आउनुपर्ने बताउनुभयो । खाना खाएपछि लौरो टेक्दै आएर दुःखसुखका कुरा गर्ने, हाँसोठट्टा गर्ने, ज्ञानगुनका कुरा सुन्ने थलो सामाजिक मिलन केन्द्र भएको हुनाले संस्थाको भवन बनाउन सबैले चासो लिनुपर्नेमा उहाँको जोड थियो ।
साना किसान कृषि सहकारी संस्था मृगौलियाका अध्यक्ष हरि बस्नेतले सामाजिक मिलन केन्द्र सेवामुखी संस्था भएको हुनाले संस्थाको जगेर्नामा सबैले साथ दिनुपर्ने बताउनुभयो । घरमा एक्लै टोलाएर बस्ने ज्येष्ठ नागरिक भेला भएर आपसमा दुःखसुखका कुरा गर्दै रमाइलो गर्ने थलो भएको हुनाले संस्थाका हरेक गतिविधिमा सबैले साथ दिनुपर्नेमा उहाँको जोड थियो ।
केन्द्रका सदस्य दाताराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन केन्द्रका आजीवन सदस्य सुरज बिष्टले गर्नुभएको थियो ।