विराटनगरः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएकाले विवादमा तानिएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिकमतकुमार कार्कीले राजीनामा दिन निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री अधिकारीले आज बिहान मुख्यमन्त्रीको निवासमै पुगेर राजीनामा बुझाउनुभएपछि सो राजीनामा स्वीकृत भएको हो ।
वैदेशिक भ्रमणमा जाँदा प्रदेश सरकार मात्र नभएर संघीय सरकारको पनि अनुमति लिनुपर्ने व्यवस्था छ । मन्त्री अधिकारी प्रक्रिया पूरा नगरी कात्तिक १३ गते जापान गएर १७ गते स्वदेश फर्किनुभएको थियो ।
रिक्त रहेको सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्की आफैँले लिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।