पोखराः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् ।
यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेका हुन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । सो आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।
मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा यो पदमार्गको पहिचान गरिएको थियो ।