विराटचोकः बुधबार राति घरेलु मैदान दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्ने दाउमा रहेको नेपालको चाहना अधुरै रहेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिसा कार्कीले ५६ औं मिनेटमा सान्त्वना गोल गरिन् ।
प्रतियोगितामा भुटानले फेयर प्ले अवार्ड पाएको छ भने भुटानकै देकी लाजोम सर्वाधिक गोलकर्ता बनिन् । उनले ८ गोल गरेकी थिइन् । उत्कृष्ट गोलकिपर बंगलादेशकी रुपमा चक्मा बनिन् भने सर्वोत्कृष्ट खेलाडी बंगलादेशकै रितु पोर्ना चक्मा बनिन् । उनले फाइनल खेलमा विजयी गोल गरेकी थिइन् ।
विजेता टिम तथा खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्यसचिव टंकलाल घिसिङ, साफ उपाध्यक्ष सुन्दरनरसिंह जोशी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले पुरस्कार प्रदान गरे ।