खेमचन्द्र अधिकारी
विराटचोकः सञ्चारको प्रभावकारी माध्यमको रुपमा रहेको रेडियो पछिल्लो समय ओझेलमा पर्न थालेको छ । रेडियोमात्रै होइन, टेलिभिजन र छापा माध्यम पनि अहिले ओझेलमा परेका छन् र सो स्थान न्यु मिडिया तथा सामाजिक सञ्जालले लिएका छन् ।
देशभरका विद्युतीय र छापा सञ्चार माध्यम इन्टरनेटको सहजतासँगै ओझेलमा परेपछि सुन्दरहरैंचाको पहिलो रेडियो सुसेली एफएम पनि मारमा पर्नु स्वाभाविकै हो । सुन्दरहरैंचामा कार्यालय राखेर टेलिभिजन प्रशारण भएको छैन । छापा माध्यमतर्फ लामो समय प्रकाशन भएको दिव्यदृष्टि साप्ताहिक अहिले बन्द छ । केही अङ्क प्रकाशन भएका दुलारी साप्ताहिक र सुकुना साप्ताहिक पनि अहिले बन्द भएका छन् । शुरुमा सुन्दरहरैंचाबाट प्रकाशन भएको संयन्त्र साप्ताहिक अहिले बसाइँ सरेर बेलबारी पुगेर त्रैमासिक रुपमा प्रकाशन हुने गरेको छ ।
नगरमा टेलिभिजन र पत्रपत्रिका नहुँदा पनि रेडियोले अपेक्षाकृत बजार लिन सकेको छैन । पछिल्लो समय खुलेका अनलाइन पोर्टल र फेसबुक पेजले रेडियोको लोकप्रियता खोसेका छन् । अझ रोचक त के छ भने त्यस्ता अनलाइन पोर्टलका अधिकांश सञ्चालक रेडियो सुसेलीकै पूर्व कर्मचारी हुन् । अधिकांश अनलाइन पोर्टल एकल स्वामित्वमा सञ्चालनमा छन् जबकि रेडियो सुसेलीका शेयरधनी २०० जनाभन्दा बढी छन् । रेडियो सुसेलीका शेयरधनीमा प्रदेश सरकारका पूर्व राज्यमन्त्रीदेखि सुन्दरहरैंचाका पूर्व नगरप्रमुख, वर्तमान नगर प्रमुख, देशमै नाम कहलिएका उद्योगपतिका साथै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका नेता रहेका छन् । ठूला दलका माथिसम्म पहुँच भएका व्यक्ति शेयरधनी हुँदा पनि रेडियोले ‘राम्रो’आम्दानी नगरेपछि खर्च धान्नै नसक्ने अवस्था आएपछि चालु आर्थिक वर्षदेखि कर्मचारी कटौती गरिएको छ । रेडियो स्थापना हुँदा २२ जना कर्मचारी रहेको रेडियोका ८० प्रतिशत कर्मचारी कटौती भइसकेका छन् ।
लोकप्रिय नाराः बिर्सिदैछन् सारा
जहाँसम्म रेडियोको आवाज सुनिन्थ्यो त्यहाँसम्मका स्रोताको कानमा गुञ्जिन्थ्यो रेडियोको मधुर नारा ‘जनमनको बोली, रेडियो सुसेली’ । एफएम ब्याण्डको १०६ दशमलव ३ मेघाहर्जमा गुञ्जिने सो नारा अहिले भने कतिपय शेयरधनीले नै भुलिसकेका छन् । त्यतिमात्रै होइन कतिपय शेयरधनीलाई त रेडियो सुसेली प्रशारण आरम्भ भएको दिन २०६७ कात्तिक २ गते हो र रेडियोले १४ वर्षे यात्रा पार गरिसकेको छ भन्ने पनि थाहा नहुन सक्छ । रेडियोमा काम गर्ने कर्मचारी त आउनेजाने भइरहन्छन् । उनीहरुले रेडियोको विकासमा तत्कालीन भूमिका खेले पनि दीर्घकालीन भूमिका नखेल्न सक्छन् । रेडियोको विकासमा महत्वपूर्ण निर्णय लिने सञ्चालक र शेयरधनीले नै भए पनि त्यसतर्फ ध्यान नदिइएको हो कि जस्तो देखिन्छ । २ सय जनाभन्दा बढी शेयरधनी भएको संस्थालाई प्रत्येक शेयरधनीेले एउटाएउटा नयाँ योजना सुनाउँदा २ सय वटा योजना हुन्छन् । ती योजनामध्ये ५ प्रतिशतमात्रै लागू भए भने पनि रेडियोको विकास हुने निश्चित छ ।
मिसन पत्रकारिताको नमूनामा अब्बल
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, बैंकर अनिलकेशरी शाहलगायतलाई विराटचोकमा ल्याएर भव्य कार्यक्रम गरी सञ्चालनमा आएको रेडियो सुसेली स्थापनाकालमा समाज सुधारका केही अभियानमा हात हालेर ती अभियानलाई पूर्णता दिन सफल भएको थियो । यस अर्थमा रेडियो सुसेलीले ‘मिसन पत्रकारिता’ मा आफूलाई अब्बल साबित गरेको थियो । मोरङ जिल्लाका तत्कालीन आधा गाविसमा ‘खुदिमु’ अर्थात् खुला दिसामुक्त क्षेत्र घोषणा गर्न रेडियो सुसेलीले गरेको मिहिनेत अविष्मरणीय छ । सोही अभियानमार्फत् नै सुसेली एफएम मोरङवासीको मनमनमा बस्न सफल भएको थियो । खुला दिसामुक्त अभियानको चर्चा हुँदा सधैँ सुसेली एफएमको चर्चा हुनेछ । यो काम र चर्चा नै सुसेलीको सम्पत्ति हो । यस्ता चर्चायोग्य काम गर्न सुसेलीले पछिल्लो समय सकेको छैन ।
मैले थाहा पाएसम्म २ वर्ष अघि सुन्दरहरैंचाको फोहरमैला व्यवस्थापनको काम गर्न रेडियो सुसेलीले नखोजेको होइन । नगरपालिकाले त्यसमा चासो नदिएपछि त्यो कार्यक्रम त्यत्तिकै सेलायो । आफ्नै पालिकाले नपत्याएपछि अन्य पालिकाले पनि नपात्याएको हो कि जस्तो देखिन्छ ।
सुशासनमा निरन्तर क्रियाशील सुसेली
२०६६ सालमा स्थापना भएको एकता मिडिया प्रालिद्वारा सञ्चालित रेडियो सुसेलीले कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, संखुवासभालगायतका जिल्लाका पालिकाको सुशासन प्रवद्र्धन गर्न मद्दत पुग्ने खालका सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाइ, नागरिक सन्तुष्टि सर्भेक्षण, विपद व्यवस्थापनलगायतका क्षेत्रमा काम गरिरहेको छ । यसरी रेडियोले गरेको सह्रानीय कामको न ती पालिकाले चर्चा गरेका छन् । न त रेडियोको सञ्चालक समितिले नै शेयरधनीलाई विस्तृत जानकारी दिन सकेको छ ।
अबको आवश्यकता
इन्टरनेटको सहज पहुँच भएसँगै तत्कालको लागि सञ्चारको मुख्य स्रोत अनलाइन पोर्टल र ती अनलाइन पोर्टलका फेसबुक पेज भएका छन् । रेडियोले पनि आफूलाई यसतर्फ ढाल्न आवश्यक देखिन्छ । हुन त रेडियो सुसेलीको पनि वेब पोर्टल र फेसबुक पेज त छ तर ती प्रभावकारी देखिएका छैनन् । त्यसको प्रभावकारितातिर ध्यान दिन जरुरी छ । रेडियो मजबुत नभएसम्मका लागि सबै शेयरधनीले मासिक १०० रुपैयाँ रेडियोको विकासका लागि छुट्याउने हो भने वार्षिक अढाइ लाख रुपैयाँ जम्मा हुन्छ । सो रकम शिक्षा, स्वास्थ्य, अर्थ, साहित्य र कलालगायतका क्षेत्रमा समसामयिक बहस कार्यक्रम उत्पादन गर्नका लागि खर्च गर्ने र एउटा कार्यक्रमबापत न्यूनतम १ हजार रुपैयाँ पारिश्रमिक कार्यक्रम सञ्चालकलाई दिने हो भने १ वर्षभित्रैमा रेडियोले थप फड्को मार्न सक्ने देखिन्छ ।
रेडियो सुसेलीले अन्य सञ्चार गृहका सञ्चारकर्मीलाई पनि सो सञ्चार गृहमा काम गर्न र लगानी गर्न आकर्षित गर्न सक्ने गरी काम गर्न सक्नुपर्छ । रेडियोको स्थापना दिवसको अवसरमा यही छ शुभकामना ।