गोठगाउँः ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण गरेको मितिलाई आधार मानेर गत वर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो । २०६२÷२०६३ को जनआन्दोलनपछि सेप्टेम्बर ८ मा पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन सो दिवस मनाइन्थ्यो । त्यसभन्दा अघि भने फागुन १२ गते सो दिवस मनाइन्थ्यो ।
शिक्षा मन्त्रालयले बुधबार दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ । यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ ।
उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र भने पछि प्रदान गरिने जनाइएको छ ।