अनन्त पौडेल
नेपाली साहित्य आकाशका उज्ज्वल नक्षत्र मोतिराम भट्टको जन्म पिता दयाराम भट्ट र माता रिपुमर्दिनीको तेस्रो सन्तानका रुपमा वि.सं १९२३ भदौ २५ गते शनिबार भाद्र कृष्ण औंसीका दिन काठमाडौंको भोसीको टोलमा भएको हो । एक जना दाजु र दिदीको बाल्यावस्थामै मृत्यु भएकाले तेस्रो सन्तानलाई पनि केही नराम्रो हुने आशङ्काले यिनलाई बचाउन मातापिताले तान्त्रिक एवम् ज्योतिषीय कर्महरू गरेका थिए । निख्खुन व्यक्तिलाई दैवले चाँडै मन पराउने र आफ्नो बनाउने भयले यिनलाई बिटुल्याउन नाक छेडिदिएका थिए । दुई सन्तानको देहावसान भएकाले मातापिताले यिनलाई पुलपुल्याएर हुर्काएका थिए तापनि यिनी शान्त स्वभावका थिए ।
तत्कालीन समय काशी अर्थात् बनारस विद्याको केन्द्र मानिथ्यो । अलिकति शिक्षित र निम्न मध्यमदेखि उच्च वर्गका ब्राह्मण परिवारले आफ्ना छोरा नातिलाई पढनका लागि बनारस पठाउँथे । भट्ट परिवारको सम्बन्ध पनि काशीसँग जोडिएको थियो । दयारामकी माहिली आमा काशीमै भएकाले दयाराम माहिली आमाको स्याहारसुसारमा काशी गएको र एक वर्षसम्म घर नफर्केपछि रिपुमर्दिनी पनि वि.सं. १९२८ मा मोतिराम र एक छोरी लिएर काशी पुगिन् । आठ वर्षको उमेरमा मोतिरामको व्रतबन्ध बनारसमै भयो । पहिले मोतिरामलाई संस्कृत विद्यालयमा भर्ना गरिएको थियो । तीन\चार वर्ष उनले संस्कृतको अध्ययन गरे । त्यसवेला उर्दू भाषा खुबै प्रचलनमा थियो । त्यसैबाट प्रभावित भएर दयारामले मोतिरामलाई उर्दू पढाउन फार्सी स्कुलमा भर्ना गरिदिए उनले काशीमा संस्कृत, उर्दू र अङ्ग्रेजीको अध्ययन गरे ।
वि.सं. १९३७ मा उनी काशीको पढाइ छाडेर आमा र बहिनीसित काठमाडौँ फर्के । सोही साल १५ वर्षको उमेरमा उनको विवाह काठमाडौँमा भयो । विवाह भएपछि १९३८ मा सपरिवार बनारसमा गएर बस्न गएर बस्न थाले । काशीमा रहँदा एक जना कुशल सितारवादक पन्नालालसँग मोतिरामको निकटता बढ्दै गयो । पन्नालालसँग उनले सितार बजाउन सिके र गजल लेखी त्यही सितारको धुनमा आफ्ना गजल गुनगुनाउन थाले ।
साहित्यप्रति रुचि राख्ने मोतिरामको चिनजान भारतेन्दु हरिश्चन्द्रसँग भयो जो आधुनिक हिन्दी साहित्यको प्रवर्धनमा महत्वपूर्ण योगदान दिने व्यक्ति हुन् । भारतेन्दु हरिश्चन्द्रले ‘कविता बद्धिनी सभा’ गठन गरी नयाँ पुस्ताका युवाहरुलाई समस्यापूर्तिका माध्यमबाट साहित्य सिर्जनामा आकर्षित गर्ने परम्पराको थालनी गरेका थिए । त्यस ‘कविता बद्धिनी सभा’का एक सहभागी मोतिराम पनि थिए । उनै भारतेन्दु हरिश्चन्द्र र उनको कविता बद्धिनी सभाको प्रेरणा र प्रभावबाट मोतीरामले पनि वि.सं. १९३८ मा बनारसमा कवि मण्डलीको स्थापना गरेका थिए । त्यस कवि मण्डलीमा मोतिराम भट्ट, तेजबहादुर राना, पद्मविलास पन्त, काशीनाथ, रङ्गनाथ र चेतनसिंह सम्मिलित थिए । कवि मण्डलीले समस्या दिएर त्यसलाई कविताको माध्यमबाट पूर्ति गर्न प्रेरित गर्दथ्यो ।
भारतेन्दु हरिश्चन्द्रको कविता बद्धिनी सभामा समस्यापूर्ति कविता पूरा गरेर मोतिरामले हरिश्चन्द्रबाट रु १० पुरस्कार पनि पाएका थिए । यसबाट उनी झनै उत्साहित भएका थिए ।
राजगुरु लोकराजको अनुरोधमा वि. सं. १९४४ मा मोतीराम नेपालमै बस्ने गरी बनारसबाट फर्के र दरबार हाइस्कुलमा पढ्न थाले । उनका कक्षाका सहपाठीमा देव समशेर र चन्द्र समशेर पनि थिए । स्थायी रूपमा नेपालमै बस्ने गरी बनारसबाट फर्किएर नेपालमा आएका मोतीरामले पनि कवि मण्डली स्थापना गरे । सो मण्डलीमा मोतिरामका अलावा राजीवलोचन जोशी, लक्ष्मीदत्त पन्त, भोजराज पाण्डे, तीर्थराज पाण्डे, गोपीनाथ लोहनी, डोलेश्वर पाण्डे, अमजद हुसेन आदि सहभागी थिए । मोतिराम भट्टकै नेतृत्वमा गठन भएको सो कविमण्डली मोती मण्डलीका नामले चिनिन्छ । मोती मण्डलीले भाषा, साहित्यमा महत्वपूर्ण योगदान दिने लक्षण देखाएको थियो तर तत्कालीन शासन व्यवस्था अनुदार थियो ।
मोतिराम नेपाली भाषा साहित्यको श्रीवृद्धिमा बहुआयामिक ढङ्गले प्रकट भएका छन् । विलक्षण प्रतिभाका धनी मोतिराम नेपाली साहित्यको एक युगका निर्माता हुन् । उनले सिङ्गो माध्यमिक कालको नेतृत्व गरे । त्यो युगलाई मोतीयुग पनि भन्ने गरिन्छ । विदेशी वस्ताजहरुलाई बोलाएर गजल सुन्ने दरबारिया परम्परालाई कमजोर बनाउन मोतिरामले नेपाली भाषामा गजल लेख्ने कम गरेका हुन् । यस समयमा उनलाई गजल लेखनमा उनलाई लक्ष्मीदत्त पत्त ‘इन्दु’ गोपीनाथ लोहनी र शम्भुप्रसाद ढुङ्गेलले साथ दिए । नेपाली साहित्यमा एउटा नवीन र विशिष्ट पहिचान बोकेको साहित्यिक विधा थप्ने प्रथम व्यक्तित्वका रूपमा मोतीराम चिनिन्छन् ।
विवाहको समयमा पण्डित र जन्तीहरु रामायणको सिलोकमा जुहारी खेलेको सुनेपछि वि.सं २०३७\०३८ सालतिर उनले रामायणका रचयिता भानुभक्तको खोजी गर्न थाले । वि.सं. १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्र लेखेर प्रकाशित गराएपछि उनी प्रथम जीवनीकारका रूपमा आफूलाई उभ्याउन सफल भए ।
उनले समकालीन र पूर्ववर्ती कविका बारेमा शब्द गुच्छाले होस् वा कविता नै लेखेर होस् प्रशंसा गरेका छन् । उनले भानुभक्त आचार्यलाई आदिकवि, कविचक्रचूडामणि र कविकुलमुकुटमाणिक्य, राजीवलोचन जोशीलाई कवि शिरोमणि, पद्मविलास पन्तलाई कवि र तीर्थराज पाण्डेलाई कविराज उपाधिले प्रशंसा गरेका छन् । आत्मप्रशंसामा रमाउने र अर्काको खोइरो खन्ने आजको समयमा मोतिरामको यस्तो कार्यलाई सामान्य रूपमा लिन सकिँदैन ।
राजा महेन्द्रद्वारा नियुक्त प्रसिद्ध लेखक बालकृष्ण समको अध्यक्षतामा गठित राष्ट्रिय विभूति मनोनयन आयोगले साहित्यको क्षेत्रबाट राष्ट्रको गौरव बढाउन पुर्याएको योगदानका आधारमा मोतिराम भट्टलाई वि. सं. २०२४ मा राष्ट्रिय विभूतिको उपाधि प्रदान गरेको हो
यिनी भाषा साहित्यप्रति ममता राख्ने भाषासेवी हुन् । यिनी नेपाली, संस्कृत, नेवारी, हिन्दी, उर्दू, फारसी, बङ्गाली, अंग्रेजी आदि भाषाका ज्ञाता थिए । मोतीराम आफ्ना मित्र तेजबहादुर रानासँग मिलेर नेपाली पुस्तकको प्रकाशन, वितरण र प्रचारप्रसारमा क्रियाशील थिए । वि.सं. २०४१ मा भानुभक्तका बालकाण्ड, रामगीता प्रश्नोत्तर र भक्तमाला छपाएका मोतिरामले पत्रपत्रिका प्रकाशन, वितरण र व्यवस्थापनमा देखाएको सक्रियता भाषा साहित्यको विकासमा कोसेढुङ्गा सावित भएको छ ।
बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व मोतीरामले तीस वर्षको छोटो आयु प्राप्त गरेका भए पनि उनले विविध विधाका क्षेत्रमा पुर्याएको योगदानलाई नेपालीले कहिल्यै कहिल्यै भुल्न सक्दैनन् । मोतिरामले पुस्तक प्रकाशन, खोज अनुसन्धान, पत्रपत्रिका प्रकाशन साहित्य सिर्जना, छापाखानाको स्थापना गरी लेखनमा उत्साह र प्रेरणा गर्नुका साथै अनेकौँ रचनात्मक काम गरेका थिए ।
मोतिराम भट्टका कृतिहरु
गजेन्द्रमोक्ष १९४४,
पञ्चक प्रपञ्च १९४४
तीजको कथा १९४४
चाणक्य नीति दर्पण १९४६
प्रह्लाद भक्तिकथा १९४८
शुक्रनीति १९४८
भानुभक्ताचार्यको जीवन चरित्र १९४८
गफास्टक १९५२ अघि
उखानको बखान तथा जान्ने कथा सङ्ग्रह १९५२ अघि
उषाचरित्र १९५५
मनोद्वेग प्रवाह १९५७
प्रियदर्शिका २०१६
पीकदूत २०१९
मोतिराम भट्टका गजलहरु २०३८