दुलारीः वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा अलपत्र परेका एक जना युवा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसद ढकालको सक्रियतामा घर फर्कन सफल हुनुभएको छ । सुन्दरहरैंचा ४ निवासी सन्तोष पोखरेल हालै घर फर्कन सफल हुनुभएको हो ।
बिरामी हुँदा कम्पनीले वास्ता नगरेपछि आफ्नै खर्चमा उपचार गराइरहनुभएका पोखरेल अलपत्र परेपछि योगेन्द्र पोखरेल र काजी तिम्सिनाको अनुरोधमा पूर्व नगरप्रमुख ढकालले सन्तोषलाई नेपाल ल्याउन पहल गर्नुभएको थियो ।
‘प्रोसेस मैले शुरु गरेको थिएँ,’, पूर्व नगरप्रमुख ढकालले भन्नुभयो, ‘साउदी अरेबियामा नेपाली जनसम्पर्क समिति, मोरङ– सुनसरी सेवा समाज र कुमार कार्कीको सहयोगमा भाइलाई सकुशल घर फर्काउन सफल भयौँ ।’ प्रक्रिया शुरु गरेको १५ दिनमा पोखरेललाई नेपाल फर्काउन सफल भएको पूर्व नगरप्रमुख ढकालले बताउनुभयो ।
ढकालले यसअघि पनि विदेशमा अलपत्र परेका नगरवासीलाई स्वदेश ल्याउन सहयोग गर्नुभएको थियो ।