विराटचोकः आज बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार दिनभर हरियो भए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा केही समय रातो देखिएर पुनः हरियो भएको थियो । बजार बढेसँगै कारोबार रकम पनि हिजोको भन्दा सामान्य बढेको छ ।
विकास बैंकमा लागनीकर्ता झुम्मिएको दिन आज नेप्से परिसूचक ० दशमलव २० प्रतिशत अर्थात् ६ दशमलव ०१ अङ्कले बढेर २ हजार ९७४ दशमलव ४६ विन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७० प्रतिशतले बढेर ५३३ दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज ३३३ कम्पनीको २ लाख १६ हजार ४५५ पटकको कारोबारमा ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर कारोबार हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूह राताम्य भएका छन् । विकास बैंक समूह सर्वाधिक ४ दशमलव ५२ प्रतिशतले बढ्दा बैंकिङ समूह ० दशमलव १७ प्रतिशत, वित्त समूह १ दशमलव २३ प्रतिशत, होटल समूह १ दशमलव ३१, जलविद्युत समूह ० दशमलव ५५, जीवन बीमा ० दशमलव २८ र सामुहिक लगानी कोष ० दशमलव ४९ प्रतिशतले बढेका छन् ।
निर्जीवन बीमा १ दशमलव १२, लगानी समूह १ दशमलव ०८ प्रतिशत, उत्पादन तथा प्रशोधन ० दशमलव ५६, लघुवित्त ० दशमलव ०२ र अन्य समूह ० दशमलव ३० प्रतिशतले घटेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा ५ वटा विकास बैंक रहेका छन् ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड ९३ लाख ४१ हजार ५४३ रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाईड्रोपावरको ४७ करोड ४७ लाख, हिमालयन रि इन्स्योरेन्सको ४४ करोड ८० लाख, ज्योति विकास बैंकको ३७ करोड ४४ लाख र अपि पावर कम्पनीको ३३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
तारागाँउ रिजन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेमलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रीस्टार हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चर्सको १० प्रतिशत, एनबीबीएल डिबेन्चरको ३ दशमलव ९५, बोटलर्स नेपाल(बालाजु) को शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशतले घट्दा राष्ट्रिय बीमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनीको समान ३ दशमलव ७३ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख ९ हजार २७१ रुपैयाँ कायम भएको छ ।