विराटचोकः २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि मृत्यु भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ जना जनप्रतिनिधिको पद रिक्त रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कोशी प्रदेशका ६ जिल्ला, मधेस प्रदेशका २ जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशको एक जिल्ला, लुम्बिनी प्रदेशका ३ जिल्ला, कर्णाली प्रदेशका ५ जिल्ला र सुदूर पश्चिमका ५ जिल्लाका स्थानीय तहमा निर्वाचन गर्नुपर्ने जनाएको हो ।
जसमध्ये कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्नेछ । तेह्रथुमको लालीगुराँस ८, झापाको कन्काइ ६, सुनसरीको गढी ६, उदयपुरको बेलका ८ र त्रियुगा १२ तथा ओखलढुङ्गाको मोलुङ ५ मा वडाध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्नेछ ।
मधेस प्रदेशमा सप्तरीको डाक्नेश्वरी ४ तथा रौतहटका इशनाथ ७, राजपुर ६ र गढीमाइ ८ मा वडाध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्नेछ ।
बागमती प्रदेशमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्नेछ । काठमाडौंका कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौं १६, नुवाकोटको ककनी २ र मकवानपुरको हेटौंडा १२ मा वडाध्यक्ष पद रिक्त रहेको हुनाले उपनिर्वाचन गर्नुपर्ने भएको हो ।
गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा ५ मा वडाध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।
लुम्बिनी प्रदेशमा गुल्मी जिल्लाको मुसीकोट १, बर्दिया जिल्लाको ठाकुरबाबा ४ र रोल्पा जिल्लाको रुन्टीगढी ४ मा वडाध्यक्ष पदको लागि निर्वाचन गर्नुपर्ने छ ।
कर्णाली प्रदेशमा दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख पदका लागि उपनिर्वाचन गर्नुपर्नेछ । दैलेखको दुल्लु १३, कालिकोटको तिलागुफा ४, जाजरकोटको कुशे ७, डोल्पाको त्रिपुरासुन्दरी ५ र रुकुम पश्चिमको सानीभेरी ५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन गर्नुपर्ने छ ।
सुदूर पश्चिम प्रदेशको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्नेछ । त्यस्तै, बझाङको सुर्मा ४, डोटीको पूर्वीचौकी ६, दार्चुलाको दुहुँ ५ र कञ्चनपुरको भीमदत्त ६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन गर्नुपर्ने छ ।
निर्वाचन आयोगले रिक्त रहेका देशका पालिकाका प्रमुख र वडाध्यक्ष पदका ३४ जना जनप्रतिनिधि चयन गर्न मंसिर तेस्रो साता उपनिर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग छलफल गरेको छ । ती निर्वाचन क्षेत्रका मतदातालाई नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ । निर्वाचनको मिति तोकिएपछि नामावली दर्ता नहुने आयोगले जनाएको छ ।
गाउँपालिका तथा नगरपालिकाका महत्वपूर्ण पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन गर्न लागिएको आयोगले जनाएको छ । आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न अनु्रोध गरेको हो ।
आयोगका अनुसार यी हुन् उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहहरूः