दुलारीः नगरको शान्तिसुरक्षा कायम गर्न सहज होस् भनी मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर प्रहरी भर्ना गरी १५ दिने तालिम सम्पन्नपश्चात् दीक्षान्त समारोह आयोजना गरी नगर प्रहरीलाई दज्र्यानी चिह्न प्रदान गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको आतिथ्यतामा भएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले दीक्षित हुने प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक तथा जवानलाई लगनशील, कर्मठ र योग्य कर्मचारीको रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिनुभयो ।
नगर प्रहरीका १२ वटा अधिकार क्षेत्रभित्र रहेर महत्वपूर्ण काम गर्नुपर्ने र व्यक्ति भन्दा विधिलाई आत्मसात गर्नुपर्ने उहाँको भनाइ थियो । स्थानीय सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको हुनाले नगरपालिकाको शिर ठाडो हुने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।
महिला र पुरुष गरी भर्ती भएका २० जना नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहोर व्यवस्थापनका साथै घाइतेको उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण लगायतका विषयमा तालिम दिइएको बताइएको छ ।