विराटचोकः सरकारले बनाउने कानुन र ऐन कसरी बन्छन् भन्ने बारेमा सांसद स्वयम् नै अनभिज्ञ हुने गरेको मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत रहेको सुकुना बहुमुखी क्याम्पसको १७ औँ परिषद् बैठकको उद्घाटन सत्रलाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै डा. शर्माले यस्तो बताएका हुन् ।
‘त्यो ऐन कतिबेला कहाँ ड्राफ्ट हुन्छ ? कसले बनाउँछ ? अनि एकैचोटि ल्याउँछ र पास गर्ने बेलामा साइन गर्नुपर्याे भन्छ’, ऐन कानुन कसरी बन्छन् भन्ने आफूले भोगेको दृष्टान्त सुनाउँदै उनले भने, ‘वरीपरी चारपाँच जान ब्युरोक्र्याट्स बसेका हुन्छन् । हामीले हेर्न पाएको हुँदैन, पढ्न पाएको हुँदैन । यस पटक चाहिँ मेरो झगडै पर्याे ।’
१ वर्ष लगाएर भर्खर सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास भएको उनले सुनाए ।
हाम्रो राज्य संयन्त्र चाहिँ जे विषय चाहिएको छ त्यसलाई रोक्ने क्रममा लाग्ने गरेको बताए । राम्रा, भर पर्दा, विश्वमा श्रम बिक्ने खालका विषय अहिले विश्वविद्यालयले सम्बन्धन नै नदिने गरेको उनले उल्लेख गरे ।
‘विश्वविद्यालयको कार्यक्रम भएका ठाउँमा नर्सिङ र सिटीईभिटीका कक्षा चलाउन नदिने अनि आफ्ना अस्पताल नभएका शिक्षण संस्था बन्द गराइदिने गरेको छ’, शिक्षा राज्यमन्त्रीले यस विषयमा ध्यान दिनुपर्याे भन्दै उनले भने, ‘अबको ३ वर्षपछि अस्पतालले यहाँ नर्स नपाएर डाक्टरलाई भन्दा बढी तलब दिएर विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउँछ ।’