विराटचोकः नेपालमा शैक्षिक अराजकता रहेको र केही शैक्षिक माफियाहरुले विभिन्न दातृ निकायबाट अनुदान पाउने नाममा ती निकायको निर्देशन र शर्तमा विश्वविद्यालय चल्नु दुःखद विषय भएको कोशी प्रदेशका पूर्व उद्योग, वन तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझाले बताएका छन् ।
सुकुना बहुमुखी क्याम्पसको १७ औँ परिषद बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सोही क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत रहेका ओझाले विश्वविद्यालयले बनाउने नीति नियममा सरकारले चासो दिनुपर्ने बताए ।
नचलेका कलेजलाई बन्द गर्नुपर्ने र राम्रा कलेजलाई सक्दो सहयोग गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मदन भण्डारी स्मृति प्रतिष्ठानजस्ता प्राविधिक र मेडिकल विषय पढाइ हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता विषयको अवस्था पनि कहालीलाग्दो बन्दै गएको हुनाले चासो दिनुपर्नेमा उनले जोड दिए ।
कोशी प्रदेशका मात्रै नभएर मधेस प्रदेश र वागमती प्रदेशका साथै अन्य प्रदेशका विद्यार्थी पनि यहाँ अध्ययन गर्न आउनुले क्याम्पसको शैक्षिक स्तरको अनुमान गर्न सकिने उनको भनाइ थियो ।