धरानः खानेपानीको महसुलको विषयलाई उठाएका कारण धेरैको समर्थन पाएर चुनाव जितेका धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले खानेपानीको महसुल व्यापक बढाएका छन् ।
धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल अत्यधिक वृद्धि गरेको छ । पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको हो ।
खानेपानी महसुल वृद्धि गर्दा छलफल नभएको राजनीतिक दल र जनप्रतिनिधिहरूले बताएका छन् । मेयर साम्पाङले एकलौटी रुपमा महसुल वृद्धि गरेपछि जनप्रतिनिधिसहित राजनीतिक दलहरू असन्तुष्ट बनेका छन् । १० राजनीतिक दलहरूले बोर्डको नयाँ नियमविरुद्ध बिहीबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
आज ती दलले सबै वडामा ध्यानाकर्षण पत्र बुझाउने र २० साउनबाट धर्ना सुरु गर्ने बताएका छन् ।
दलहरूले ११ साउनमा पुरानै महसुल कायम गर्न भन्दै बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिएका थिए । बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणबद्ध आन्दोलन घोषणा गरिएको छ । महसुल वृद्धिको विरोधमा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रबिक्रम बेघासहित जनप्रतिनिधिले पनि साथ दिएका छन् ।
खानेपानी बोर्डले जारी गरेको सूचीअनुसार सबै शीर्षकको शुल्क वृद्धि भएको छ । नयाँ शीर्षकमा जलाधार संरक्षण शुल्क थपिएको छ ।
खानेपानी जडान होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको छ । धरानमा २०७४\७५ देखि शुल्क वृद्धि नभएको बोर्डले जनाएको छ ।
१\२ इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ । ४\३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ ।
१ इन्चको पाइपको १५ हजार रुपैयाँबाट बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । १–१\२ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँबाट बढाएर ७५ हजार रुपैयाँ तथा २ इन्चको पाइप जडान शुल्क २५ हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्याइएको छ ।
बोर्डले नामसारी शुल्क पनि बढाएको छ । यसअघि १\२ इन्चको पाइपको मृतक व्यक्तिकोबाट नामसारी गर्दा २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो । यसलाई बढाएर ५ हजार बनाइएको छ ।
४\३ इन्चमा ७ हजार ८००, १ इन्चमा ९ हजार ८००, १–१\२ इन्चको धारा नामसारीमा १४ हजार ८०० र २ इन्चको नामसारीमा १९ हजार ८०० सम्म वृद्धि गरिएको छ । यसअघि सबै इन्चको नामसारी शुल्क मृतकबाट २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो ।
मर्मत तथा धारा चेकको शुल्क पनि बढाइएको छ । यसअघि सबै इन्चको धारा मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजारसम्म पुर्याइएको छ ।
धरानकी तत्कालीन कार्यवाहक मेयर मञ्जु भण्डारीले खानेपानीको महसुल वृद्धि गरेपछि शुल्क घटाउन नागरिक समाजको तर्फबाट हर्क साम्पाङले आन्दोलन गरेका थिए । त्यसबेला उनी अभियन्ताको रूपमा चिनिन्थे ।