विराटचोकः हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरेको थियो । जसका कारण असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुलगंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सकिने बताइएको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने पूँजीबाट सबै खर्च कटाई बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्न खर्च गर्ने जनाएको छ ।