विराटचोकः आज घरघरमा खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको विश्वास गरिन्छ । रोपाइँ सकिएको वा सकिन लागेको समयमा र गाईवस्तुले प्रशस्त दूध दिने समयमा खीर खाने चलन चलेको हुन सक्ने अनुमान गरिन्छ ।
धानको चामल, साबुदाना, सेवइ, मकै, गाँजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।
२०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, असार १५ मा दहीचिउरा खाने, ऋषिपञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन क्वाँटी खाने, हरिबोधिनी एकादशीका दिन पिँडालु र सुठुनी खाने, माघ १ गते तिलको लड्डु र तरुल तथा माघ १५ गते मालपुवा खाने चलन नेपाली समाजमा छ ।